भक्तपुर, २० चैत । चितुवा आतंक रोक्न सूर्यविनायक नगरपालिका–७ बालकुमारी सामुदायिक वन क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ ।
बाघ गाउँ पस्ने र बच्चा खाने क्रम बढ्न थालेपछि नियन्त्रणका लागि १० वटा सिसी क्यामरा जडान गरिएको हो ।
वन क्षेत्रमा सिसी क्यामरा जडान गरेर चितुवाको रेकर्ड लिन थालिएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वडा कार्यालयको आग्रहपछि राष्ट्रिय प्राकृतिक संरक्षण कोष जावलाखेलले वन क्षेत्रमा चितुवाको संख्या र गतिविधि अनुगमन गर्न थालेको छ ।
जंगलभित्र कति चितुवा, बाघ छन् भनेर गणना गर्न र उनीहरूको प्रकृति बुझ्न क्यामरा जडान गरिएको छ । चितुवा बस्ती पस्ने र मानवमाथि आक्रमण गर्ने गतिविधि देखिए जाल हालेर नियन्त्रणमा लिने प्रवन्ध गरिएको छ ।
गाउँमै चितुवा पसेर पसल गएर घर फर्कंदै गरेका गुण्डु पानीट्याङ्की खहरे बस्ने छ वर्षीय शिरिष तामाङलाई चितुवाले आक्रमण गरी जंगलमा लगेर खाएको थियो । सो घटना भएको एक महिना पनि नबित्दै बच्चासहित चितुवा गाउँमा देखा परेपछि यहाँका बासिन्दा आतंकित छन् ।
पानीट्याङ्की मन्थली गाउँको नजिकै रहेको बालकुमारी वनमा तीन वटा बच्चासहित आएको चितुवाले केही दिनअघि एसइई परीक्षा दिएर फर्कंदै गरेकी एक किशोरीमाथि आक्रमणको प्रयास गरेपछि गाउँका बासिन्दा चितुवाबाट आतंकित भएको वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले बताए ।
सरकारले सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान बनाउने भएपछि उद्यानभित्र परेको उक्त वन क्षेत्रलाई व्यवस्थित गर्ने र तारबार लगाउने काम नगरी अलपत्र छोडिदिँदा गाउँमा चितुवा पस्न थालेको मन्थली गाउँका बासिन्दाको भनाइ छ । उनीहरुले वन क्षेत्रको सीमाङ्कन गर्र्न र तारबार लगाउन स्थानीयवासीले माग गरेका छन् ।
स्थानीयवासीलाई वन क्षेत्रमा जान अहिले रोक लगाइएको छ । वडा कार्यालयले सूचना नै जारी गरेर बालकुमारी वनभित्र र आसपासका क्षेत्रमा नजान स्थानीयवासीलाई रोक लगाएको हो । बालकलाई चितुवाले आक्रमण गरेको बाटो बन्द गरेर अन्यत्रबाट गाउँ जाने बाटो खुलाएको छ ।
Related News
सम्बन्धित समाचार
कम्प्युटर र नेतृत्व विकास तालिम
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण
नमूना टोलमा सडक बत्ति
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग