नामजस्तै काम ‘सहारा’

राष्ट्र न्यूज सम्वाददाता
माघ १०, २०७४
26219301_1819246911483400_5535862632611294674_n

 –सरस्वती गुरुङ

आफ्नो जन्मसँगै हरेक मानिस र स्थापनासँगै हरेक संघसंस्था एउटा लक्ष्य बोकेर अगाडि बढ्ने गर्दछन् । अगाडि बढ्दै जाँदा चुनौतीका पहाडसँग ठोकिन्छन्, असफलताका अँध्यारा गल्ली देखा पर्दछन् तब हतास भएर आफ्नो बाटो मोडेर यात्रालाई अर्कैतिर फर्काउने बानी धेरैको हुन्छ । लक्ष्य लामै भए पनि धेरै गौंडाबाट छुट्टिरहेका हुन्छन् । सपना देख्नेको कमी यहाँ छँदै छैन तर सपना पूरा गर्ने योजनाका साथ अगाडि बढ्नेलाई नै दीर्घकालसम्म समाजले सम्झिरहन्छ । जोसँग योजना छ, त्यसले मात्र सपना पूरा गरेको छ र थपिएको छ सपना देख्ने नयाँ जिम्मेवारी पनि ।

पोखरा र खेलकुद दुईवटा शब्द सुन्नेबित्तिकै आम जनमानसदेखि प्रबुद्ध व्यक्तिको दिमागमा समेत एउटा नाम आइहाल्छ सहारा क्लब । मोफसलमा रहेर केन्द्र र अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाउन सफल र आफ्ना गतिविधिमार्फत केन्द्रलाई सदैव चुनौती दिँदै आइरहेको पोखरेली खेलकुदको पर्याय बनेर उभिएको संस्था हो सहारा क्लब । समयको गतिसँगै आज सहाराले आफूलाई फुटबल खेलमा मात्र सीमित राखेको छैन, सहारा आज फुटबल सँगसँगै समाज सेवाको क्षेत्रमा समेत अब्बल संस्थाका रूपमा आफूलाई उभ्याएको छ ।

२०५५ सालमा स्थापना भएको क्लब २० वर्षे जवान भइरहँदा यसको दायित्व र जिम्मेवारी पनि बढ्दै गएको छ । त्यसताका पोखरामा खेलकुद गतिविधि अत्यन्तै कम थियो । खेलकुदमै करिएर बन्न सक्छ वा खेल खेलेरै इज्जत प्रतिष्ठा र देशका लागि योगदान दिन सकिन्छ भन्ने सोच पलाइसकेकै थिएन । आफ्नो स्थापनालगत्तै पोखरेली र यसवरपर खेलकुद गतिविधिलाई सक्रिय बनाउनुपर्छ भन्ने हेतुले क्लब स्थापना गरियो । यस क्लबले पोखरामा फुटबलको टुर्नामेन्ट सुरु ग¥यो ।

२०५६ सालमै सहारा कप नामको जिल्लास्तरीय टुर्नामेन्ट सुरु गरेको सहाराले पहिलो टुर्नामेन्ट गर्दा बेलाका तितामिठा धेरै अनुभव छन् । तैपनि निश्चित सहयोगी हातको सहयोगमा पहिलो टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न गरेपछि २०५८ मा राष्ट्रिय क्याराभान गोल्डकप पनि सफलता पूर्वक सम्पन्न गरेको थियो । पछि सहयोगी हात बढ्दै जाँदा धेरैपटक खेलका नाम पनि परिवर्तन भए । २०५९ देखि आहा गोल्डकपको नाममा खेलाइएको खेल २०६९ पछि अहिले १६ औं संस्करणसम्म आहा रारा गोल्डकपको नाममा आइपुगेको छ । आजसम्म आइपुग्दा नेपाल पुलिस, मनाङ मस्र्याङ्दी, थ्रिस्टार, नेपाल आर्मी, फ्रेन्डस्, जावलाखेल युथ, सशस्त्र प्रहरी जस्ता देशकै प्रतिष्ठित क्लब मात्रै होइन, भारतको कार्लेटन क्लब, अफ्रिकन युनाइटेड क्लब र बंगलादेशको धनमुन्डी क्लब जस्ता चर्चित विदेशी क्लबले समेत यस खेलमा सहभागिता जनाएका छन् ।

फुटबल खेल्नका लागि जम्मा भएको एउटा जमात कसरी एकाएक मोडियो समाजसेवामा ? यो प्रश्न सहारालाई बेलाबेलामा सोधिने प्रश्न हो । हिजोआज सहारा भन्ने बित्तिकै फुटबल मात्रै सम्झदैनन् पोखरेलीहरू सहारा क्लब भनेपछि पोखराको बसपार्क सम्झिन्छन्, यसले बनाएको सार्वजनिक शौचालय सम्झन्छन् र त्योभन्दा बढी सम्झन्छन् दोविल्लाको खेलकुद एकेडेमी जहाँ विपन्न वर्गका नानीबाबुहरू निशुल्क खेल प्रशिक्षण लिइरहेका छन् । बाबुआमा गुमाएका थुप्रै बालक फेरिएको वर्तमानसँग भविष्य खोजिरहेका छन् यतिबेला सहाराको खेलकुद एकेडेमीमा ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका लागि भोलिका खेलाडी तयार पार्नुपर्ने जिम्मेवारी खासमा सरकारको हो । तर यतिबेला सहाराले त्यो गहन जिम्मेवारीलाई आफ्नो काँधमा लिएर अगाडि बढिरहेको छ । एउटा कोठामा चलेको एकेडेमी अहिले विशाल मैदान र आधुनिक भवनमा सरेको छ । फुटबल खेल्नका लागि जन्मेको संस्था आज फुटबल खेलेर अन्तर्राष्ट्रिय पहिचान जमाउन सक्ने र स्टार खेलाडी उत्पादन गर्ने भइसकेको छ ।

विक्रम थकालीको क्याप्टेनसिपमा फुटबल खेल्न मैदान उत्रेको क्लब वसन्त थकालीको क्याप्टेनसिपबाट आधिकारिक क्लब बनेर लामो समय बिताइसकेको छ । २० जनाको सहारा क्लबमा अहिले सयौं सदस्य छन् । उत्तिकै आजीवन सदस्य । समाजको प्रत्येक दुखाइसँग भिडेको छ सहारा । हरेक पीडासँग नजिक भएर मलमपट्टीको काममा जुटेको छ । समाजका दुखाइसँगै जन्मेको सहारा क्लब हालसम्म पनि आफ्नो लक्ष्यबाट अविचलित यात्रामा निरन्तर छ । सुरुदेखि नै सामाजिक सेवाभावका हिसाबले अगाडि बढेको क्लब अहिले यसको दायरा झन् थपिँदै गएको छ, घटेको छैन । त्यसैले सहारा क्लब अब सहाराको मात्रै होइन । सारा पोखरेली र नेपालीको क्लब बनेको छ ।

राष्ट्रिय पूर्वकप्तान अनिल गुरुङ सहाराको पहिलो उत्पादन हुन् । त्यसपछि राष्ट्रिय टिमका खेलाडीहरू खासै नभए पनि क्लबमा स्तरीय र राम्रा खेलाडी सहारासँग छन् । पूर्व कप्तान अनिल गुरुङ जन्माउन सक्ने सहारा क्लबले थुप्रै अनिल गुरुङहरू उत्पादन गर्न सकोस् । जो नेपालको खेलकुद र नेपाली फुटबललाई लिडिङ गर्न सकून् । थुप्रै राजनीतिक उतारचढाव र फेरबदल भइरहँदा पनि सहारा क्लबले आफ्नो उद्देश्य र लक्ष्यलाई कहिल्यै पनि विचलित हुन नदिई जुन एउटा उचाइ कायम गरेको छ, यो उचाइको निरन्तरताको कामना छ ।

क्लबले थालेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ बनोस् । समाजसेवाको यो भावना अगाडि सारेर काम गरिरहँदा थुप्रै व्यवधान भोलि पनि आइपर्नेछन् तर ती व्यवधानसँग जुधेर नेपाली खेलकुदको भविष्य उज्यालो बनाउनेतर्फ सहारा क्लब केन्द्रित हुन सकोस् । ‘यो जीवन अरूका लागि होइन भने यो जीवन नै होइन ।’ मदर टेरेसाका यी भनाइसँगै सहारा परिवारको यो उन्नत अभियानप्रति नतमस्तक छु ।

स्रोत ः नागरिक

Related News

सम्बन्धित समाचार

Archives

Archives