विराटनगरले उचाल्यो इपिएल उपाधी

राष्ट्र न्यूज सम्वाददाता
पौष १५, २०७४
5a47491c7f187
 काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ।

यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो ।

१५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो । आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो ।

तर, १५औं ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो ।

तर, कप्तान पारस खड्काले १९ औं ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो । पारसले अनिल साहलाई बल थमाए ।

उनको पहिलो बलमा कृष्ण कार्कीले चौका हाने । ५ बलमा ५ रन चाहियो । तर, दोस्रो बलमा अनिलले विकेट लिए भने तेस्रो बलमा रन नै थिएनन् । चौथो बलमा भुवक कार्की रन आउट भए भने पाँचौ बलमा पुनित मिश्रको विकेट गुम्यो ।

अब भैरहवालाई जितका लागि अन्तिम बलमा ५ रन चाहियो तर, ३ रन मात्र जोड्न सक्यो र एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो ।

विराटनगरका कप्तान पारसले १८ रन दिएर ३ विकेट लिए भने अनिलकुमार साह र करण केसीले २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थिया । उसका लागि अंशुमान रथले ४१ रन बनाए भने पारस खड्काले २७ र अनिलकुमार साहले २२ रनको योगदान दिए ।

स्रोत ः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

Archives

Archives