घुम्तीमा पुगेको कांग्रेसलाई कसले हाँक्ला ?

राष्ट्र न्यूज सम्वाददाता
पौष ९, २०७४
congress

डिल्लीराम ढकाल

यतिबेला कांग्रेसका कार्यकर्ताहरूको अनुहारमा निराशा एवं बिस्मातका रेखाहरू स्पष्ट देख्न सकिन्छ । लाखौं कार्यकर्ता एवं सारथीहरू चढेको रथलाई हाँक्नुपर्ने शीर्ष नेतृत्व त झन किंकर्तव्यविमूढझैं देखिन्छ ।

कांग्रेसले बितेका केही समययता पत्तै नपाई आˆनो मध्यमवर्गीय आधार उल्लेख्यरूपमा गुमाइसकेको गुनासो नआएको होइन । तर, केही महिना अगाडि सम्पन स्थानीय र भर्खरै सम्पन्न संघीय एवं केन्द्रीय निर्वाचनको परिणामपछि चाहिँ उक्त गुनासाहरू आधारहीन थिए भन्ने अवस्था रहेन ।

तर, बिडम्बना ! निर्वाचनमा प्राप्त कमजोर परिणामले आगामी दिनमा कांग्रेसले आत्मालोचना गर्ने एवं भविश्यको बाटो पहिल्याउने उपयुक्त अवसर खोज्ने छ भन्ने विश्वास गर्नेहरूका लागि भने कांग्रेसले भरपर्दो छनक दिएको छैन ।

सामाजिक रूपान्तरणको दृष्टिले कांग्रेस निरन्तर परिवर्तनको पर्याय रहँदै आएको हो । अझै भन्ने हो भने नेपालका सामाजिक एवं राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा कांग्रेसले सदैव नेतृत्व प्रदान गर्दै आएको पनि हो । तर, हरेक अवसर प्राप्तिपछि कांग्रेसी नेता कार्यकर्ताहरूको आचार-व्यवहार तथा कर्मले जनताको भावना उपर धोका दिएको आम गुनासाहरू नै पार्टी कमजोर हुनुको प्रमुख कारण बन्न पुगेको सत्यलाई नकार्न सकिँदैन ।

यथार्थमा कांग्रेसीहरूले ०४६ सालपछि आˆनो नैतिक पूँजी नराम्रोसँग गुमाएकै हुन् । खास गरी, लबेदा-सुरुवालमा ठाँटिएर ज्योतिषीको मुकाम धाउँदै हातभरि तान्त्रिक औंठी लगाएर शक्ति आर्जन गर्न उद्दत नेता एवं, कर्मद्वारा अवसर प्राप्ति गर्नेभन्दा पनि आशिर्वाद थाप्न नेताको दरबार धाउने प्रवृत्ति बोकेका कार्यकर्ताहरू नै नेपाली कांग्रेसको गम्भीर सामाजिक एबं राजनीतिक विचलनका प्रतीक हुन् ।

वास्तवमा सामन्ती संस्कृतिको अवशेष कांग्रेसी नेताहरूमा भेटिनु नै पार्टी पतन उन्मूख हुनुको प्रमुख कारण हो । अनि, चाकरी, चाप्लुसी र घुसखोरीको बोलावाला हुनुको परिणाम, स्वाभाविकरूपले आत्म सम्मानलाई महत्व दिने नागरिकहरू पनि कांग्रेसबाट विरक्तिएकै हुन् ।

सामाजिक एवं राजनैतिकरूपमा मात्रै होइन कांग्रेसको नीतिगत विचलन आर्थिक क्षेत्रमा समेत देखिएकै हो । सदैब प्रजातान्त्रिक समाजवादको नारा भट्याएर चुनाव जित्ने अनि चुनाव जितेपछि हाकाहाकी पूँजीवादी कार्यक्रमहरू थोपर्ने प्रवृत्तिले गर्दा कांग्रेसीहरू विस्तारै मतदाताबाट टाँढिदै गएको कुरा कांग्रेसी नेतृत्वले भेउ नपाउनु दुःखद विषय हो ।

यद्दपि खुला अर्थनीति र निजीकरणको प्रभावका लागि विश्वव्यापीकरणको दबाव पनि जिम्मेवार रहे होलान् । तर, पनि अत्यन्त कमजोर आर्थिक धरातल रहेको नेपाली मध्यम एवं निम्न वर्गीय समाजको जनमतलाई चालु अनियन्त्रित बजारवादले आकर्षण गर्न नसकेको कुरा नेपाली कांग्रेसका अर्थविदहरूले ठम्याउनै सकेनन् वा चाहेनन् ।

०४६ सालको परिवर्तनपछि नेतृत्वमा आएको कांग्रेसले आˆनो शासनकालमा, विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहन गरेर शिक्षा, सञ्चार एवं स्वास्थ्यका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गरे पनि सरकारको अविभावकत्वमा दलित, उपेक्षित तथा वञ्चित समूहको जीवनशैलीमा खासै समृद्धि ल्याएको अनुभूति जनतामा जगाउन सकेन । अझ राजनीतिमा अवसर पाएका र नपाएका जनतावीच आर्थिक असमानता बढ्दै गएको गुनासोलाई चिर्न नेता एबं कार्यकर्ता प्राय असफल भए ।

राजनीतिक रूपमा नेपाली कांग्रेस सङ्गठन भन्दा पनि आन्दोलन रहेको कुरा ०४६ सालपछि दलका नेताहरूले चटक्कै बिर्सिदिए । व्यापक जनसमर्थनमा आधारित (मास वेस्ड) पार्टीलाई कार्यकर्तामा आधारित (क्याडर वेस्ड) सङ्गठनमा रुपान्तरण गर्दा सिद्धान्तनिष्ठ व्यक्तिहरू पछाडि धकेलिँदा रहेछन् ।

परिणामतः उतिबेला वीपीले भनेझैं पार्टीमा सिद्धान्तनिष्ठ होइन, सुकिला मुकिलाहरू हाबी भए । सक्रिय सदस्यता प्रदान गर्दा आदर्शलाई तिलाञ्जली दिएर आसेपासे एबं ढुक्के धुपौरेहरूको हामिमुहाली नै चल्यो । यसरी, नेतृत्व हडप्ने निरर्थक खिचातानीमा शक्ति क्षय गरिरहेको कांग्रेसले घोर दक्षिणपन्थी तथा उग्रवामपन्थको समानान्तर प्रहारलाई बुझ्नै सकेन जसको परिणाम पार्टी भित्रभित्रै खोक्रो बनिसकेको थियो ।

नेतृत्वको संकटलाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले कहिल्यै गम्भीरतापूर्वक लिएनन् । जनसमर्थनमा चल्ने दलमा सिद्धान्तजत्तिकै महत्वपूर्ण हुन्छ, नेतृत्वको भूमिका भन्ने कुरा बुझ्नुपर्ने हो । जनताको अपेक्षालाई सही रूपमा सम्वोधन गर्न सक्ने सिद्धान्तवान नेतृत्व कांग्रेसजस्तो ‘मास बेस्ड’ पार्टीका लागि अपरिहार्य थियो । तर, कार्यकर्तामा आधारित दलमा जस्तो बाहुबली कार्यकर्ताहरूको बलमा नेतृत्वमा पुग्नुलाई कांग्रेसी नेताहरूले आˆनो सफलता ठांने ।

अत्यन्त प्रतिकूल परिस्थितिमा बीपीको आदर्श तथा गणेशमान सिंहको जुझारु छवि जोगाउन उनीहरूपछिका कुनै नेताले पनि नेपाली कांग्रेसलाई नेतृत्व दिन सकेनन् ।

गणेशमान सिंहको नेतृत्वमा शान्तिपूर्ण परिवर्तन गरी राजालाई संवैधानिक बनाएर लोकतन्त्र स्थापना गर्न सम्भव भएको थियो । लामो हिंसापूर्ण माओवादी विद्रोहलाई शान्ति प्रकृयामा ल्याउने अभियानको नेतृत्व पनि कांग्रेेसले नै लिएको भए पनि अहिलेको नेतृत्वले त्यो कार्यको स्वामित्व लिन सकेन । जसलाई उसले रातो कार्पेट बिक्ष्याएर सिंहदरबार सयर गरायो, अहिले उसैबाट बिस्थापित हुनपुगेको कांग्रेसले अब केवल अधिनायकवादको त्रास देखाएर मात्रै आˆना विद्यमान विसङ्गतिहरू छोप्न सक्दैन ।

भनिन्छ, कुनै पनि रोगको सही निदानसँगै आधा उपचार सकिन्छ । नेपाली कांग्रेसले आˆनो आन्दोलनकारी भूमिकालाई पुनः पहिचान गरेर त्यसअनुरुप भविष्यको रुपरेखा बनाउने हो भने मात्र त्यस ऐतिहासिक दलको सान्दर्भिकता रहिरहनेछ ।

अबको ५ वर्ष अर्थात् सन् ०२२ मा फेरि पहिलो दलका रूपमा उदाउनका लागि कांग्रेसले आन्तरिक रुपान्तरणको प्रक्रिया शुरु गर्न ढिलो भइसकेको छ । त्यसका लागि कांग्रेसले दलको पुनर्संरचनालाई पहिलो प्राथमिकतामा राख्नु उपयुक्त हुनेछ ।

कांग्रेसको मूल नारा (राष्ट्रियता, प्रजातन्त्र र समाजवाद) यद्यपि सान्दर्भिक छ । तर, त्यसभित्र अन्तर्निहित भावहरूको समय सुहाउँदो पुनव्र्याख्या भने जरुरी छ । राष्ट्रियता जुनसुकै राजनीतिक दलको प्राण हो भन्ने कुरा बुझ्न र बुझाउन जरूरी छ । जनताको सङ्गठित शक्तिलाई प्रतिनिधित्व गर्ने राजनीतिक दल सही नीति र आचरणले पुनः स्थापित हुन सकेका अनेकौं उदाहरणहरू छन । तर, त्यसका लागि सीमित भारदारहरूको संरक्षण गरेर मात्रै कांग्रेस उँभो लाग्न सक्दैन भन्ने कुरा नेतृत्वले राम्ररी बुझ्नुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, नेपाली कांग्रेस निरन्तर आन्दोलनको नाम हो भनेर मात्रै अब स्थापित हुन सकिँदैन । सङ्गठनको विश्लेषण र संश्लेषण गर्न सक्ने एकसेएक व्यवस्थापनविदहरू नेपाली कांग्रेसभित्रै बग्रेल्ती छन्, उनीहरूको पहिचान हुन जरूरी छ । अब इतिहासको ब्याज खाएर राजनीति गर्ने दिन सकिएको कुरा कांग्रेसले महशुस गर्नै पर्छ ।

गगन थापा, विश्वप्रकाश शर्मा, चन्ऽ भण्डारी, धनराज गुरुङ, रमेश लेखक, एनपी सावद, गुरू घिमिरे, तीर्थराम डङ्गोल, सुरेन्ऽ चौधरी र उदयसमशेर राणा जस्ता युवा नेताहरू आ-आˆना गुटका नेताहरूको छायाँबाट निस्किएर संगठित नभएसम्म यो सिथिल एवं थकित नेतृत्वबाट रूपान्तरण सम्भव छैन भन्ने कुरा कांग्रेसीहरूले बुझ्नै पर्छ ।

अन्त्यमा, देशमा कम्युनिष्ट शासनको हौवाजति नै पिटे पनि साम्यवादमा पुग्ने माक्र्सवादी सूत्र स्वयं लेनिनको सोभियत संघमा पल्टिसकेको र माओको देश चीनले माओवादलाई म्युजियममा मात्रै कैद गरेर राखेको सन्दर्भमा साम्यवादको घडी उदारवादतर्फ घुम्न पुगेको स्थिति छ ।

त्यसैले दलहरूले ऐतिहासिक नियतितिर समाजलाई डोर्‍याउनुभन्दा पनि राज्यलाई न्यायसङ्गत, समतामूलक तथा संवेदनशील बनाउनु अहिलेको कार्यभार हो । यसका लागि समावेशी राजनीति, प्रतिनिधिमूलक राज्यव्यवस्था तथा वितरण-प्रधान अर्थनीति अवलम्बन र नागरिकहरूको मौलिक अधिकार प्रत्याभूत नगरी सुखै छैन ।

त्यसैले एउटा चुनाव हार्दैमा कांग्रेस अत्तालिनुपर्ने अवस्था छैन । बाटो बिराएर एउटा कठिन घुम्तीमा पुगेको मात्रै हो । स्टेरिङ्ग समाउने चालक सही हुने हो भने अहिलेको घुम्तीबाट कांग्रेसलाई सहजै सजिलो राजमार्गमा अवतरण गर्न गाह्रो पर्ने छैन ।

उपयुक्त सामाजिक एवं राजनैतिक कार्यक्रम, सही आर्थिक नीति तथा समग्र राजनीतिक कार्यसूची लिएर समर्पित नेतृत्वका साथ प्रस्तुत हुने हो भने नेपाली कांग्रेसको जनाधार अहिले पनि कतै गएको छैन । अहिलेको समानुपातिकतर्फको मत परिणामले पनि यो प्रमाणित गरेको छ ।

साभारः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

Archives

Archives