समानुपातिकमा काँग्रेस पहिलो, कहाँ कहाँ पढ्नुस्

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २६, २०७४
congress

पोखरा,२६ मंसिर। प्रत्यक्षको मतपरिणाम अन्तिम चरणमा पुग्नै लाग्दा अब सवैको ध्यान समानुपातिकको परिणामतर्फ छ।

कुन दलले कति मत ल्याउलान् भन्ने चासो बढिरहेको छ। यस्तै चासो बढिरहेका बेला केहि जिल्लाको समानुपातिकतर्फको परिणाम प्राप्त भएको छ। प्राप्त परिणाम अनुसार, नेपाली काँग्रेस दुई जिल्लामा पहिलो बनेको छ। ती जिल्ला बाग्लुङ र सोलुखुम्बु हुन्।

सोलुखुम्बुमा समानुपातिकतर्फ कांग्रेस पहिलो, एमाले दोस्रो र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। कांग्रेसलाई प्रतिनिधिसभा तर्फ १५ हजार १४८ समानुपातिक मत प्राप्त हुँदा प्रदेश सभा तर्फ १३ हजार ४४७ मत प्राप्त भएको छ ।

एमालेलाई प्रतिनिधिसभा तर्फ १२ हजार ६६ र प्रदेशसभा तर्फ १० हजार ४५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ७ हजार ६७३ र प्रदेश सभातर्फ ८ हजार ३१ मत पाएको छ।

उता, प्रत्यक्ष तर्फ बागलुङमा एक सिट पनि नजितेको काँग्रेस समानुपातिकतर्फ जिल्लामा पहिलो भएको छ ।

नेपाली काँग्रेसले प्रतिनिधिसभा तर्फ ३५ हजार छ सय ६८ मत पाएको छ । नेकपा एमालेले ३० हजार ६ सय ३५, राष्ट्रिय जनमोर्चाले १५ हजार ९ सय ३४ र नेकपा माओवादी केन्द्रले १४ हजार चार सय ५० मत पाएका छन् ।

प्रत्यक्ष तर्फ बागलुङको दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्य वाम गठबन्धनले जितेको थियो । यस पटक जिल्लामा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर निर्वाचनमा गएका थिए।

Related News

सम्बन्धित समाचार