मन्त्रिपरिषद्मा हंगामा मच्याएको त्यो अति गोप्य वार्ता…

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १८, २०७४
lalbabu-pandit

सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री थिए । एक दिन मन्त्रिपरिषद् बैठकको ठीक अघि पण्डितले प्रधानमन्त्रीसँग १० मिनेटको समय मागे । कोइरालाले पण्डितलाई खबर पठाए, ‘हुन्छ, आउनुहोस् ।’

प्रधानमन्त्रीको बैठक कोठामा सुरक्षा अधिकृत र केही सहयोगी थिए । पण्डितले प्रधानमन्त्रीसँग ’वान टु वान‘ कुरा गर्न चाहेको बताए । सुशीलले इशारा गरेपछि अरु सबै बाहिरिए ।

‘तपाई बिहे गर्ने हो ?’ पण्डितले सुशीललाई सोधे । ‘के भनेको ?’ सुशीलले च्याँठिदैं प्रतिप्रश्न गरे । ‘बिहे पनि नगर्ने सन्तान पनि नजन्माउने भए भविष्यप्रति तपाईको के को लोभ ?’ पण्डितले अर्को प्रश्न थपे । ‘मलाई के को लोभ ?’ कोइरालाले प्रश्नमा प्रश्न थपे । ‘तपाईको देशबाहेक सोच्नुपर्ने अरु केही छ ?’ पण्डितले फेरि प्रश्न गरे । कम बोल्ने सुशीलले जवाफ फर्काए, ‘छैन ।’

पण्डितले त्यसपछि सोझै प्रस्ताव गरे, ‘त्यसो भए डिभीपिआर लिन नपाउँने गरी निजामति कर्मचारी ऐन संशोधन गर्न तपाईले आँट गर्नुप¥यो ।’

पण्डितले बुझिसकेका थिए सादगी भएपनि सुशील परिवन्दमा परेका थिए । उनकी स्वकीय सचिव मृदुला कोइराला आफैं ग्रिनकार्डधारी थिइन् । काँग्रेसका नेता र मन्त्री आफैँ विदेशको ग्रिनकार्ड र पिआर बोकेर हिडिरहेका थिए ।

सुशीललाई मन्त्रिपरिषद्मा सो व्यवस्था कुनै पनि हालतमा राख्न नहुने भनेर काँग्रेसका मन्त्रीहरुले र्यााख्रर्यानख्ती पारेको उनले आफ्नै आँखाले देखेका थिए । ‘एक दिन म बालुवाटार गएको थिएँ । प्रधानमन्त्रीलाई त सबैले घेरिराखेका रहेछन् । कुनै पनि हालतमा मान्न नहुँने भन्दै उनीहरुले प्रधानमन्त्रीलाई औँला सोझाइरहेका थिए ।’ पण्डितले परिस्थिति कति गम्भीर थियो भन्ने औल्याँदै भने, ‘त्यो गोप्य वार्तामा सुशीलजीले साथीहरुको गुनासो छ । तर, म तपाईको साथमा छु भन्नुभयो ।’ पण्डितले राष्ट्रवादी प्रधानमन्त्रीका लागि यो ऐतिहासिक अवसर भएको भन्दै तर्क गरे । तर्कविर्तक गर्न नचाहने सुशीलले दोहोर्या ए, ‘भनिहाले नि म तपाईको पक्षमा छु । म गर्छु ।’ पण्डितले प्रश्न थपे, ‘आजैको बैठकबाट पास गर्नुहुन्छ ?’

गोप्य बैठक सकिएपछि सरासर दुबै मन्त्रिपरिषद् बैठकमा गए । प्रायजसो मन्त्री आइसकेका थिए । बैठक शुरु भयो । एकपछि अर्को मन्त्रालयका प्रस्ताव पारित हुँदै गए । अन्तिममा सुशीलले सामान्य प्रशासन मन्त्रालयको प्रस्तावका बारेमा बोल्न पण्डितलाई आग्रह गरे । पण्डितले प्रस्ताव राखे ।

अर्थमन्त्री डाक्टर रामशरण महत जुरुक्क उठे । उनले ‘कुनै पनि हालतमा प्रस्ताव पारित हुन नसक्ने’ जिकिर गरे । त्यसपछि सञ्चारमन्त्री मिनेन्द्र रिजाल उठे । उनले भने, ‘प्रधानमन्त्रीज्यू, यो मन्त्रिपरिषद्को प्रमुख को ? तपाई की पण्डित ? पटकपटक एउटै कुरा ।’ त्यसपछि एनपी साउँद उठे र भने, ‘यसले लाखौं नेपालीलाई चिढ्याउँछ ।’ एमालेका तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री बामदेब गौतम पनि उठे । उनले पनि महत र रिजालकै पक्षमा धारणा राखे ।

सबैको धारणा सकिएपछि सुशील कोइराला एक छिन केही बोलेनन् । पण्डितको मनमा चिसो पस्यो, ‘अघिको सल्लाहले काम नगर्ने हो कि ?’ सुशीलले निर्णय सुनाए, ‘धेरै कुरा भइसक्यो यो बारेमा । आज पास गरिदिऊँ । पास भयो ।’

प्रधानमन्त्रीको छेवैमा थिए मुख्यसचिव लिलामणि पौड्याल । उनको मुहारमा चमक आयो । उनले बेग गतिमा कलम चलाउन थाले । त्यसपछि प्रधानमन्त्री उठे ।

प्रधानमन्त्रीसँगको त्यो वार्ता

प्रधानमन्त्रीमाथि सबैभन्दा बढी दबाब आफ्नै घेराबाट थियो । दिनरात उनलाई सो प्रस्ताव अस्विकृत गर्न सुझाब र चेतावनी आइरहन्थ्यो । सचिवालयमा बसेकैहरुले भन्थे, ‘हाम्रो राजनीति धरापमा पर्छ ।’ प्रधानमन्त्रीको भित्री मन पास गर्ने भन्ने थियो तर बाहिर उहाँलाई दबाब थियो । पण्डित भन्छन्, ‘त्यो दिनको बैठक एकदमै सार्थक रह्यो । समकालिन नेतामा भित्र जे हो बाहिर त्यही भएको सापेक्षित आर्दश व्यक्तिका रुपमा मैले उहाँलाई बुझेको छु ।’

महतको मलिन अनुहार

लालबाबु पण्डित उतिसारो पठित होइनन् जति रामशरण र मिनेन्द्रहरु हुन् । पण्डितसँग मन्त्रालय सम्हालेको अनुभव पनि थिएन । महत पटकपटक मन्त्री भइसकेका थिए । मन्त्रिपरिषद्को सुरुवाती बैठकमा महत यसरी कुरा राख्थे की अरुले केही जानेको छैन । एकदिन महतले भने, ‘नयाँ मन्त्रीले पुरानाको फ्लो गर्नुहोला । धेरै स्मार्ट हुन नखोज्नुहोला ।’ नयाँ मन्त्री पण्डितलाई महतको कुराले चस्स बिझायो । महतले पण्डितलाई ज्वाईं भन्थे । महत थरकी बिमलासँग बिहे भएकाले ज्वाईं भनिएका पण्डितले डिभी पिआर लिने नेता र कर्मचारीका बिरुद्धमा कुरा उठाएपछि महत बोल्नै छाडे । मन्त्रिपरिषद्मै भनाभन भयो ।

अमेरिका पुगेका महतले त्यसैबेला घोषणा गरेका थिए, ‘लालबाबुले ल्याएको प्रस्ताव कुनै पनि हालतमा पारित हुंने छैन ।’ लालबाबुलाई शुरुशुरुमा सञ्चार माध्यमले उतिसारो मतलब पनि गरेका थिएनन् । अन्तरवार्ता लिइहाले उनलाई सोधिन्थ्यो, ‘काँग्रेसले डाक्टरहरुलाई मन्त्री बनायो । उनीहरुसँग बहश गर्न तपाईहरु जस्तो अनुभव र डिग्री नभएकाले सक्नुहुन्छ ?’ टिप्पणी पनि लेखियो काँग्रेस र एमालेका मन्त्रीहरुको तुलना गरेर ।

एकातिर मन्त्रिपरिषद्मा महत र उनीजस्तै डाक्टरहरुको चुरीफुरी अर्कोतिर बाहिर यस्ता टिप्पणी । पण्डितलाई केही नयाँ गर्ने अठोट थियो । उनले डिभीपिआर लिने कर्मचारीका बिरुद्ध बहश छेडे । यसले महतलाई साह्रै घोच्न थाल्यो । अन्ततः आफ्नै दलका प्रधानमन्त्रीले प्रस्ताव पास भनिदिएपछि महतको मुख मलिन भयो । त्यसपछि महत र पण्डित मन्त्रिपरिषद्मा दुई ध्रुब जस्ता रहे ।

पीटर बोडे र रञ्जित रेसँगको रसाकसी

अमेरिकी राजदूत पीटर बोडेले कर्मचारी ऐन संशोधनका बारेमा पटक पटक चासो राखे । पण्डित तयारीका साथ प्रस्तुत हुन्थे । अमेरिकाकै उदाहरण दिन्थे ।

भारतीय राजदूत रन्जित रेले जिज्ञासा राखे, ‘भारतको रासनकार्ड लिएकालाई पनि सो नियम लागू हुन्छ ?’ पण्डितले भनिदिए, ‘रासन कार्ड भनेको त नागरिकता जस्तै हो, त्यस्तालाई त झन् लाग्छ ।’ रन्जितले भेटका लागि समय मागे । उनले परराष्ट्रसँग समन्वय गरेर आउन सुझाए । प्रधानमन्त्रीलाई समेत चाहेको बेलामा सरासर भेट्न बानी परेका रेले अफ्ठयारो मान्दै ‘ओके’ भने ।

परराष्ट्रले रेका लागि पण्डितसँग समय माग्यो । कुटनीतिक प्रक्रिया पूरा गरेर भेट्न आएका रेले नेपाल भारतको सम्बन्धको विशिष्टताका बारेमा व्याख्या गर्न थाले । २२ मिनेटको संवादपछि पण्डितले कडा प्रश्न गरे, ‘नेपालको बिमानस्थल हुँदै रअ को प्रमुख अमेरिका भागेको याद छ नि ?’ रेले आफूलाई थाहा भएको जनाउँन मुन्टो हल्लाए । ‘जासुश प्रमुख नै बिदेश भाग्दा कस्तो लाग्यो ?’ पण्डितले प्रश्नमार्फत प्रहार गरे । रेले सो घटनाले आफूहरुको चित्त दुखेको प्रतिक्रिया दिए । यस्तै घटना नेपालमा पनि नहोस् भनेर आफूले ऐन संशोधन गर्न चाहेको पण्डितले प्रष्टिकरण दिए । त्यसपछि रे बाहिरिए । बोडेदेखि रेसम्म, महतदेखि मृदुलासम्मलाई चिढाएर कोइरालाले प्रस्ताव पारित गरेका थिए ।

कोइरालाको रहस्यमय निधन

सामान्य प्रशासन मन्त्री रहेका बेला पण्डितले पूर्व प्रशासकहरुको गोष्ठी राखे स्टाफ कलेज जावलाखेलमा । सो गोष्ठीको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्रीलाई निम्ता गरिएको थियो । प्रधानमन्त्री सुशील कोइरालाले उत्साहित हुँदै भेनका थिए, ‘गज्जब गर्नुभयो । यस्तो आइडिया राम्रो ।’

कार्यक्रम शुरु हुनुपूर्व बालुवाटारबाट सूचना आएको थियो, ‘प्रधानमन्त्री आउँदै हुनुहुन्छ ।’ केही बेरमा सुशील आफैंले पण्डितलाई फोन गरे । उनले भने, ‘सरी, मलाई आउन गाह्रो भयो । आउँछु भन्दा भन्दै त्यस्तै भयो ।’ प्रधानमन्त्रीसँगको संवादपछि पण्डितले बुझे, प्रधानमन्त्रीलाई कार्यक्रममा आउन नदिनका लागि भित्रियाहरुले भुमिका खेले । पण्डित भन्छन्, ‘सादगी नेतालाई सहकर्मी र सचिवालयबाट धेरै असहयोग थियो ।’

साँझसम्म सरसाउँदा रहेका कोइराला मध्यरातमा दिवंगत भएको खबर फैलियो । खबर थाहा पाउँदा बित्तिकै पण्डितको मनमा आंशका पैदा भयो, ‘कतै त्यही प्रस्ताव पारित गरेकै कारण कुनै षडयन्त्र त भएन ?’ कोइरालाको निधन अस्वभाविक भएको भन्दै काँग्रेस केन्द्रीय समिति बैठकमा कुरा पनि उठ्यो । त्यो त्यत्तिकै सेलायो ।

नेपाल आज १ असोज २०७३

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै