बञ्जर बनिरहेको देश र खाडीमा फसेका सपना

Avatar राष्ट्र न्यूज सम्वाददाता
मंसिर २२, २०७४
nepal-outline-map

कुन्ती पोखरेल

संसारका जुनसुकै देशलाई पनि सफलताको शिखरमा पुर्‍याउने तत्व युवा समूह नै हो । युवा कुनै पनि देशका लागि रत्न, मणि, माणिक्य भन्दा कम हुँदैनन् । हाम्रो देशमा पनि यिनै युवा हुन् जसले २००७ देखि ०३६ हुँदै ०४६, र ०६२/६३ को जनआन्दोलनको अग्रमोर्चामा उभिएर प्राणको आहुति दिए । तर, बिडम्बना भन्नुपर्छ, यिनै युवाले खोजेको एउटा सानो रोजगारी पनि यो राज्यले कहिल्यै दिन सकेन ।

वर्तमान अवस्थामा हामी युवाहरु कुल जनसंख्याको झण्डै ४० प्रतिशत छौं । यसो हेर्दा झन्डै आधाउधि । तर, पनि दुर्भाग्यपूर्ण अवस्था छ भन्नुपर्छ । नत राज्यले काम दिन सकिरहेको छ, न परदेशी जीवन बिताउनेलाई स्वदेश फर्काउने प्रयास भरहेको छ ।

यसले राज्यलाई नोक्सानी हुन्छ र कालान्तरसम्म पनि एउटा स्लो पोइजनका रुपमा विकसित हुँदै जान्छ, जसको परिणाम भयावह आउन सक्छ ।

०६८ को जनगणनालाई हेर्दा हाम्रो देशमा १५ देखि ५९ बर्ष उमेर समूहका काम गर्न सक्ने मानिसहरु झन्डै ५७ प्रतिशत छन् । तर, राज्यमा काम नपाएर खाडी मुलुकमा जानेको संख्या दिनहुँ १५ सयदेखि माथि छ ।

राज्यमा पर्याप्त मानव संशाधन हुँदाहुँदै पनि राज्यले उपभोग गर्न सकिरहेको छैन । आफ्नै देशभित्र बसेर जीवनयापन गर्न चाहिने सीपमूलक काम दिन पनि राज्य निरीह छ । एउटा डकर्मी सिकर्मी को काम पनि छिमेकी मलुक भारतबाट आएका मानिसहरुले गरिरहेका छन् । यो हाम्रो दुर्भाग्य हो । अरब बनाउने हाम्रा यी हातहरु आफ्नै भूमिभित्र आफ्नै लागि घर बनाउनुपर्‍यो भने छिमेकी मुलुकका कामदार खोज्दैछौं हामी ।

राज्यले जनसंख्या नीति ०७१ जारी गरे पनि यसलाई कार्यान्यन गर्न ढिलाइ गरिरहेको छ । यदि यही गतिले नेपाल अघि बढेको खण्डमा सन् २०३० सम्म बुढाबुढीहरु मात्रै भएको देशका रुपमा नेपालको नाम दर्ज हुने सम्भावना छ, जसलाई व्यवस्थापन गर्न राज्यलाई निकै चुनौती हुने देखिन्छ ।

हाल नेपालमा ४० प्रतिशत परनिर्भर बालबालिका-वृद्धवृद्धालाई छाडेर ६० प्रतिशत काम गर्न सक्ने उमेर समूहका मानिस छन् । यति धेरै काम गर्न सक्ने मानिसको संख्याको उचित व्यवस्थापन गरी राज्यले आवश्यक लाभ लिनुपर्छ । होइन भने युवा शक्ति विदेशिने क्रम रोकिने छैन । हरेक बर्ष यो दर बढ्दो छ ।

कोरिया जानका लागि इपीएस परीक्षा दिनेहरुको ताँती देख्दा मन कुँडिएर आउँछ । राज्य निरीह छ, मानौं उसलाई प्यारालाइसिस भएको छ । देखेर पनि नदेखेझै गरी बसेको छ । यस्तो लाग्छ कि राज्यको कुनै उत्तरदायित्व नै छैन ।

देशमा लोकतन्त्र, गणतन्त्र आएको १० बर्ष भैसकेको छ, देशले यहिलेसम्म एउटा सही सक्षम दिशा दिन सक्ने नेतृत्व पाउन सकेको अवस्था छैन । सबै राजनीतिक दलहरु अंशवण्डामै सीमित छन् । चुनावको मुखमा सबैले गुलियो सपना बोकेर आउँछन् । तर, सारमा तिनको कुनै महत्व हुँदैन । एउटा भ्रम सिर्जनाका लागि बोलिएका हावा कुरा जस्ता हुन्छन् ।

काम गर्न इमान र नैतिकता चाहिन्छ । नेपालको राजनीतिमा इमान र नैतिकता भएका राजनीतिज्ञहरु निकै कमी छ । यो देशको इतिहासमा मरिचमान, कृतिनीधि, कृष्णप्रसादहरुको झुण्ड सारमा सानै देखिए पनि इमान र नैतिकतामा निकै बलिया र अगाडि देखिन्थे ।

पहाडहरु रितिदैछन् । मानिस मर्दा मलामी जाने मान्छे छैन । पशु चौपाया गोठमै थलापर्ने अवस्था छ । भएको खेतियोग्य जमिन बञ्जरमा परिणत हुँदैछन् । मौसम परिवर्तनले दैनिक नयाँ नयाँ समस्याहरुको उत्पती गराइरहेको छ । गाउँघरमा युवा उमेरका मानिस बिरलै भेटिन्छन् ।

युवाहरु राज्यका सबैभन्दा अमूल्य सम्पति हुन् । तर, दु:खका साथ भन्नुपर्छ, राज्य न त काम लगाउँछ, न काम दिन्छ । उल्टै देश छाड्न बाध्य बनाउँछ

कतिपय युवा मुग्लान पस्छन् । ५० डिग्रीको तापक्रममा पसिना चुहाउन अरबतिर कसिन्छन् । धन्न ती बिदेशिएका युवाले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र चलेको छ । सत्ताको बागडोरवालाहरुलाई चयन गर्न पुगेको छ ।

स्वर्गीय बरदान पाएका हाम्रा हिमाल पहाड तराईका कैयौ फाँट र पहाडका टाकुरा परिश्रमी हातहरुलाई सम्झेर आँशु चुहाउन बाध्य छन् । पहाडको तुलनामा तराईमा औसतरुपमा केही दुःख कम भए पनि तराईमा केही सीमित वर्गहरु, जो रातका रात कुबेर बन्ने सपनामा खेतीयोग्य जमीनलाई बर्बाद गर्दैछन् । विदेशबाट स्वदेश पुगेको पैसाले हाम्रा कुनाकन्दरा, हिमाल पहाड सजिनुको साटो रित्तिँदै छ ।

युवाहरु राज्यका सबैभन्दा अमूल्य सम्पति हुन् । तर, दु:खका साथ भन्नुपर्छ, राज्य न त काम लगाउँछ, न काम दिन्छ । उल्टै देश छाड्न बाध्य बनाउँछ ।

जो राज्यका उच्च पदमा छन्, तिनकै मानिस बेच्ने पसलहरु छन् । फेरि तिनकै मानिसहरु त्यो बेचिएका देशका राजदुत बनेर गएका छन् । भएका उद्योग कलकारखाना सबै सिध्याएर अब मानिस बेच्ने पसल, म्यानपावर कम्पनी र कन्सल्टेन्सीहरु खोलेर बसेका छन् । देशमा उद्योगका नाममा चामल मिल बाहेक केही छैन । अनि कसरी काम पाउँछन् युवाले ?

पछिल्लो समय नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास गुमाउने युवाको पंक्ति दिनहुँ बढ्दैछ । अलिकति बुद्धि ज्ञान भएकाहरु युरोप, अष्ट्रेलियाको सपनामा दिनरात कागजपत्र मिलाउनमै व्यस्त छन् । बचेकाहरु, कागजपत्र मिलाउन नसक्नेहरु, खाडीको घाम ताप्ने लाइनमा मानव बेच्ने पसलहरुमा लामबद्ध छन् ।

हाम्रो देश विश्व यवा सूचकांकमा १४५ औं स्थानमा छ । उच्च शिक्षा पाएर पनि बेरोजगार हुनेहरुको संख्या झन्डै २६ प्रतिशत छ । यो देशको सबैभन्दा ठूलो चुनौतीको बिषय हो । यसमा राज्य बेलैमा गम्भीर हुन जरुरी छ । यसलाई नियन्त्रण गर्न सकिएन भने देशमा विभिन्न किसिमका अपराधहरु बढ्नुका साथै युवा सधैंका लागि पलायन पनि हुने सम्भावना रहन्छ ।

राज्यले युवाहरुलाई यसैगरी बेवास्ता गर्ने हो भने गाई जता हरियो देख्यो उतै जान्छ भनेजस्तो युवाहरु पनि कामको खोजीमा बिदेशिनु स्वाभाविकै हुनेछ। अहिले को हाम्रो अवस्था भनेको प्रति एकहजार जनसंख्यामा झण्डै १७८ जना बेरोजगारहरु उत्पादन गर्नु रहेको छ ।

महिला युवाको अवस्था पनि उस्तै कहालीलाग्दो छ । एक त महिलालाई हाम्रो देशमा परनिर्भर बनाइएको छ, त्यसमाथि शिक्षा र  चेतनाको अभावले सानै उमेरमा बिहे गर्नुपर्ने र घरको जिमेवारी समाल्नुपर्ने हुन्छ । अनि कसरी योग्य महिला युवा जन्माउन सकिन्छ ?

शहरमा न्यून मात्रामा महिलाको स्तर केही राम्रो भए पनि दुरदराजका गाउँमा महिलाको अवस्था निकै कहालिलाग्दो छ । राज्य यी कुराहरुमा हिजो पनि र आज पनि उस्तै बेखबर छ । राज्य आफ्नो उत्तरदायित्वबाट सधैं पन्छिन खोजिरहेको छ ।

अब बन्ने संसद र सरकार सत्ताका लागि नभएर विकासका लागि, अनि देशको मुहार परिवर्तनका लागि अनि युवाहरुका लागि हुनुपर्छ

यी बेरोजगार युवाहरुलाई सबैभन्दा बढी प्रयोग गर्ने राजनीतिक दलहरु छन् । तर, तिनै दलहरु बेलाबेलामा सरकारमा जान्छन् र युवाका लागि सिन्कोसम्म भाँच्दैनन् । त्यसैले अब राज्यले चाँडो भन्दा चाँडो मानव संशाधन मन्त्रालय वा यससम्बन्धी काम गर्ने एउटा बलियो सरकारी संरचना तयार गर्नु आवश्यक छ ।

राजनीतिक नेतृत्वले सही दिशा दिन सकेको खण्डमा देशको मुहार फेर्न उति धेरै समय लाग्दैन । अरब सजाउने हाम्रा युवाका हातहरु आफ्नै जन्मभूमि सजाउन तयार हुनेछन् । त्यसका लागि राज्यले कृषि, जलश्रोत, उद्योग, व्यापार, पर्यटन, शिक्षा स्वास्थ्यमा लगानी गर्ने अवसर प्रदान गर्नुपर्छ ।

विश्व मानचित्रमा सबैभन्दा बढी जनसंख्या भएका दुई ठूला देश हाम्रा छिमेकी छन् । यदि हामीले गुणस्तरीय सेवा प्रदान गर्ने हो भने बजारका लागि हामी कहीँ कतै भौंतारिनुपर्दैन । हाम्रो जस्तै भौगोलिक अवस्थाको स्वीटजरल्याण्ड आज युरोपको मार्केट अनि विश्वको गन्तव्य बनेको छ ।

कृषि पर्यटन र ऊर्जा हाम्रा सबैभन्दा बलिया हतियार हुन् । यसमा युवा पुस्ताको आकर्षण बढाउन सकियो भने देशले गति लिन उति समय लाग्दैन ।

आज पनि नेपालमा फलेको आलु फ्रान्समा निर्यात हुन्छ । हामीले हाम्रा उच्च पहाडी तथा हिमाली भेगमा फलाउने फलफूल र तरकारीमा गुणस्तर ल्याउन सक्यौं भने हाम्रो उत्पादनको माग युरोपमा हुनेछ । त्यसैगरी मुस्ताङमा रहेको युरेनियम र पर्यटन क्षेत्रले देशलाई कायापलट गर्न सक्छ । यसभित्र युवाशक्तिको आकर्षण बढाउन लगानी मैत्री वातावरणको सिर्जना गर्नु निकै अपरिहार्य छ ।

त्यसैले, अब बन्ने संसद र सरकार सत्ताका लागि नभएर विकासका लागि, अनि देशको मुहार परिवर्तनका लागि अनि युवाहरुका लागि हुनुपर्छ ।

स्रोतः अनलाइनखबर

Related News

सम्बन्धित समाचार