काठमाडौँ, १३ जेठ (रासस) । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ ।
पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
अहिले उक्त चक्रवात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर–पश्चिम सर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ । त्यसले केही दिन मौसममा असर पार्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३ देखि १५ गतेसम्म प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
ती प्रदेशका तराइमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने र मध्यम वर्षाको सम्भावना छ । गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।
प्राधिकरणको सावधानीका सुझाव
प्राधिकरणले बस्ती नजिक बाढी पहिरो डुबानको जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा बस्न र नदी, खोला किनार एवं पहिरो आसपास बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गर्दै सतर्कताका सूचना सम्प्रेषण गर्न भनेको छ ।
पहाडमा भूक्षय र पहिरो एवं तराईमा बाढी आउनसक्ने भएकाले हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न अधिकारी तथा गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई तयारी अवस्थामा राख्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
सम्भावित वर्षा एवं बाढीबारे थाहा पाउन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं ११५५ मा फोन गर्न र तत्काल खोज, उद्धार र राहतका लागि राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको टोल फ्रि नं ११४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यस्तै विपद्को समयमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकालाई विशेष ध्यान दिन भनेको छ ।
पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई फिर्ता बोलाउने प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते