काठमाडौँ, ३१ चैत (रासस) ।सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ ।
चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ ।
काठमाडौँ उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ ।
पाँच चोकमा र त्यहाँका आठ जेब्राक्रसिङमा जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । ट्राफिक बत्तीका केही सामान आएको छ केही आउने क्रममा रहेको ओझाले बताए ।
उनका अनुसार सामान आएकामा त्यसको ‘प्रोजामिङ’ भइरहेको छ । विदेशबाट आउनुपर्नेमा केही सामान आउन अझै बाँकी रहेको छ । यी बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । उनले भने , “यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।” विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेको थियो ।
पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि उसले बत्ती निकालेर लगेको उनले बताए । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जडीबुटीमा बत्ती जडान गरेको थियो ।
बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताए । विभागले अहिलेसम्म उपत्यकामा १९ स्थानमा ट्राफिक बत्ती जडान गरिसकेको छ । ठाउँठाउँमा उपत्यकाका पालिकाले राखेका पनि बत्ती छन् । यी सबै बत्तीमा कुन बत्ती कति समय बल्ने भनी व्यवस्थापनको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । अरु निकायले जडान गरेको बत्ती पनि केही महिनामा विभागलाई नै हस्तान्तरण हुने प्रमुख ओझाले जानकारी दिए।
विभागले थप अरु छ÷सात ठाउँमा बत्ती राख्ने योजना बनाएको छ । चक्रपथको कोटेश्वरबाट–कलङ्की खण्डमा ट्राफिक बत्ती जडानको काम आगामी आवमा हुनेछ । काठमाडौँ उपत्यका बाहिर पनि पोखरा नगरपालिकाले एक ठाउँमा ट्राफिक बत्ती जडान गरिसकेको छ ।
वीरगञ्जमा पनि जडान गरिने योजना बनाइएको छ । उपत्यकासँगै उपत्यका बाहिर पनि यसको माग भइरहेको प्रमुख ओझाले बताए। बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ । यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ । अझै पनि कतिपय यात्रु र चालकले बत्तीको सङ्केत नबुझेर त कतिले बुझे पनि बेवास्ता गरेकाले त्यसको पालना गराउन ट्राफिक प्रहरी चोकचोकमा खटिएको देख्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी