प्रतिनिधि सभा विघटन बारेमा फैसला अर्को हप्ता, मुद्दामाथिको बहस आज सकिदैं

राष्ट्र न्यूज सम्वाददाता
फागुन ७, २०७७
Supreme_Court

काठमाडौँ, ७ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । अदालतले सहयोगीका रूपमा झिकाएका एमिकस क्युरीको बयान पनि सकिने चरणमा पुगेको हो ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीका तर्फबाट अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय राखेपछि सो मुद्दामाथिको बहस आज सकिने भएको छ । उक्त मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा क्युरीका तर्फबाट अन्तिम सदस्यका रुपमा पाठकले बहस गरेकी हुन् ।

पाठकले संविधान भन्दा माथि कोही पनि नरहेको बताइन् । संविधान कोमामा रहेको भन्ने प्रसंग यसअघि इजलासमा उठेको स्मरण गर्दै उनले संविधान कोमामा पुग्दा सबै कोमामा पुगेको धारणा राखिन् ।

प्रतिनिधि सभा विघटन गर्ने निर्णय सम्बन्धमा राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिका विषयमा पनि प्रश्न उठेको भन्दै उनले सबै संविधान अनुसार चल्नुपर्ने बताइन् । पाठकको बहस सकिएपछि इजलास निर्णय सुनाउने प्रक्रियामा जानेछ ।

यसअघि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले बहस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सोको विरोधमा सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएका थिए ।

उक्त रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दे प्रधानन्यायाधीश चोलेन्द्र शम्‍शेर जबराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई प्रतिनिधि सभा विघटन गर्नुको लिखित जवाफ पेस गर्न र राष्ट्रपति कार्यालयलाई विघटनको निर्णयको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएका थिए ।

माघदेखि संवैधानिक इजलासमा जारी सुनुवाइमा साढे तीन सय बढी कानुन व्यवसायीले प्रतिनिधि सभा विघटनको विपक्षमा बहस गरेका थिए । दुई महिना लामो बहसपछि अब अर्को हप्ता प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives