महोत्सवमा आलु किन्नेको घुइँचो

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १, २०८३
9

पोखरा, १ वैशाख । १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहँदा आलु किन्नेहरूको सख्यामा ह्वात्तै वृद्धि भएको छ ।

मङ्गलवार सम्म करिब ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दुई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ।

हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकांश उपभोक्ताको रोजाइमा पर्दै आएको मङ्गलवार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेका पोखरा घारीपाटनका ध्रुव बिजुक्छेले बताए । ग्राहकको अत्यधिक चापका कारण त्यहाँ आलु किन्न लाइन नै लाग्ने गरेको छ ।

आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण, माछापुच्छ्रे«, रुपा एवम् मादी गाउँपालिका, स्याङ्जा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बागलुङ, सुनसरी, रुपन्देही, मकवानपुर लगायतका जिल्लाबाट समेत मानिसहरू महोत्सव स्थल विष्णु पादुका खेल मैदान पुगेका छन् ।आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याई नभ्याई भइरहेको छ भने मङ्गलवार साँझसम्म २० लाख बढीको आलु कारोबार भएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलु बिक्री गरिएको छ ।

महोत्सव मध्येतिर आइरहँदा दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको पाँचौँ दिन मङ्गलवार नयाँ वर्षको सार्वजनिक बिदा परेकाले त्यहाँ दर्शकको भिडभाड देख्न सकिन्थ्यो । मङ्गलवार मात्रै १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हौसिएका छन्।

महोत्सव अन्तर्गत मङ्गलवार कलाकारहरू शिव हमाल, राजु ढकाल, कृष्ण गुरुङ, नेत्र खड्का, ममता तामाङ, सुभद्रा श्रेष्ठ,भूमिका पङ्गेनी, प्रजिता सुनार, सर्गम गिरी, विपशा चदारो लगायत धवलागिरि बोडिङ स्कुलले प्रस्तुति राखे।त्यस्तै पप कन्सर्टतर्फ पोखरेली ब्यान्डका लवा एञ्जिला रेग्मी र गगन गुरुङले प्रस्तुति राख्दै दर्शकलाई नचाए ।

त्यस्तै महोत्सवमा बुधबार कलाकारहरू समीक्षा अधिकारी, कुमार पुन, राजन कार्की, तुलसा क्षत्री, नवराज अधिकारी, दुर्गा क्षत्री लगायतकाप्रस्तुति रहनेछन् ।त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ।

महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार एवम् कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुतिलगायत विभिन्न कृषि उपज बीउ विजन तथा कृषि यन्त्रको प्रदर्शनीलगायतका गतिविधि पनि सञ्चालित छन्।
महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार