नेका कास्कीद्वारा निर्वाचन परिचालन समिति गठन, १३ मा सम्पर्क कार्यालय स्थापना

राष्ट्र न्यूज सम्वाददाता
माघ १६, २०८२
f68c391a-9ca0-4355-8492-1f6304f831c6

पोखरा । नेपाली काँग्रेस कास्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयारी अघि बढाएको छ ।

तयारी स्वरूप नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको संयोजकत्वमा पाँच हजार एक सदस्य रहेको निर्वाचन परिचालन मूल समिति गठन गरेको सहसचिव नवीन सिग्देलले जानकारी दिए ।

कास्की काँग्रेसको बैठकले बाबुराम गिरीको संयोजकत्वमा ७ सदस्य रहेको निर्वाचन व्यवस्थापन सचिवालय गठन गरेको छ। जसको सदस्यहरूमा युवक लामिछाने, रामजीप्रसाद कोइराला, सीता शर्मा, विष्णु अधिकारी, भरतप्रसाद तिवारी र गणेश थापा रहेका छन् । 

साथै इन्जिनियर सागर मोहन भट्टराईको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ। जसको सदस्यहरूमा चौबहादुर गुरुङ,  बुद्धिमान गुरुङ,  सुरेन्द्र अधिकारी र श्याम गुरुङ रहेका छन् ।

त्यसै गरी नेपाली काँग्रेस क्षेत्र नम्बर १ कास्कीले चुनावी अभियान अन्तर्गत बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १३ मा सम्पर्क कार्यालय स्थापना गरेको छ।

सम्पर्क कार्यालयको  कास्कीको तत्कालीन थुमाकोडाँडा गाविसका पूर्व अध्यक्ष कर्णबहादुर गुरुङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार  तिलक बहादुर रानाभाटले मतदाताबाट प्रेम र सद्भाव पाइरहँदा खुसी मिलेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले जनताको बिचमा रहेका समस्या समाधान र विकास योजना आफ्नो प्राथमिकता भएको बताए ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले  समाजमा रहेका बेथितिहरूको अन्त्य काँग्रेसले मात्रै गर्न सक्ने बताए ।

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति १३ का सभापति माधव प्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष किरण बराल, विद्यार्थी नेता दीपक पौडेल र कार्यसमितिका सचिव बुद्धिराज बरालले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै