लेखनाथ महोत्सव सफलता उन्मुख

राष्ट्र न्यूज सम्वाददाता
पौष ११, २०८२
Push_11_02

पोखरा ।  लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हिसाबले सफलतातर्फ उन्मुख हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमानता महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्।

महोत्सव सञ्चालनको नवौँ दिनसम्म आइपुग्दा आयोजकको लक्ष्य अनुसारका दर्शकहरूले अवलोकन गरिसकेका छन् भने सोही अनुरूप र कारोबारमा वृद्धि हुँदा आयोजकहरूमा उत्साह थपिएको छ ।  बिदाका दिनमा मात्र  करिब ४० हजार दर्शकले अवलोकन गरेका थिए भने आजसम्म कुल दर्शक सङ्ख्या करिब २ लाख ५० हजार पुगेको छ ।

आर्थिक कारोबारतर्फ दैनिक एक करोड रुपैयाँ हाराहारीमा कारोबार भइरहेको आयोजकले जनाएको छ। केही दिनमै महोत्सवमार्फत करोडौँ रुपैयाँ बराबरको आर्थिक गतिविधि भएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा तथा पशुपक्षीसम्बन्धी स्टलहरूमा राम्रो कारोबार भएको छ। विशेष गरी बाल उद्यान, खाना महोत्सव र कृषि प्रदर्शनी दर्शकका लागि आकर्षण बनेका छन् ।

यस वर्ष महोत्सवलाई परिष्कृत स्वरूप दिँदै कृषि बहस र उद्योग बहस कार्यक्रम पनि आयोजना गरिएको छ। कृषि बहसमा माछा पालन, अलैँची खेती र पोलट्री व्यवसायका कृषकहरूले अनुभव र चुनौती साझा गरेका थिए भने उद्योग बहसमा विभिन्न उद्योगीहरूले व्यावसायिक सङ्घर्ष र सफलताका कथा प्रस्तुत गरेका छन्। नीति निर्माता र सरोकारवालाबिच प्रत्यक्ष संवादले महोत्सवलाई केवल मनोरञ्जनात्मक मात्र नभई ज्ञान र बहसको मञ्चका रूपमा स्थापित गरेको छ ।

सांस्कृतिक, साहित्यिक र शैक्षिक कार्यक्रमहरू पनि महोत्सवका थप आकर्षण बनेका छन्। कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन कार्यक्रम रहेको छ । विद्यालयस्तरीय प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, सुगम सङ्गीत र लाइभ कन्सर्टहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।
 
२०६१ सालमा ‘सुन्तला महोत्सव’का रूपमा सुरु भएको लेखनाथ महोत्सव आज कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित भएको छ। स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रवर्द्धन र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।

महोत्सव अझै ३ दिन सञ्चालन हुने भएकाले दर्शक सङ्ख्या र आर्थिक कारोबार थप बढ्ने अपेक्षा गरिएको छ । 

Related News

सम्बन्धित समाचार