पोखरा । पोखरामा बुधवार देखी १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिस्तारै खेलकुद व्यावसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे ।
राष्ट्रिय एकताको प्रतीकका रूपमा खेलकुद विकास भइरहेको भन्दै मेयर आचार्यले देश विभिन्न मुद्दामा विभाजित हुँदा पनि खेलकुदको माध्यमबाट एकजुट र एकताबद्ध बन्ने गरेको स्मरण गरे । उनले ग्रासरुटबाट खेलाडी उत्पादनको गर्नको लागि महानगरले ध्यान दिएको दावी गरे । त्यसको मुख्य थलो विद्यालय भएकोले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने उनको भनाइ थियो । यहीँबाट उत्पादन भएका विद्यार्थी जिल्ला, प्रदेश, राष्ट्रियस्तर हुँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्ने बताउँदै त्यसैको आधार तयार गर्न यो प्रतियोगिता आयोजना गरिएको प्रस्ट पारे ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगरका रूपमा रहेको पर्यटनको राजधानी सहर पोखरालाई खेलकुदको सहरको रूपमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यसहित पोखरा महानगरले काम गरिरहेको बताइन् । विद्यालय तहका बालबालिकाहरूको सर्वाङ्गीण विकासमा खेलकुदको भूमिका महत्त्वपूर्ण हुने भएकाले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताइन् ।
पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले व्यक्तिगत स्वास्थ्यमात्र नभई समाजलाई नैतिकवान्, मूल्यवान, सशक्त र एकताबद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई अनुशासित बनेर खेल्न आग्रह गरे ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको उनको भनाइ छ ।
उद्घाटन समारोहमा नयाँ खेलाडीमा उत्साह थप्न नेपालका नम्बर वान टेनिस खेलाडी प्रदिप खड्का सहित राष्ट्रिय महिला फुटबल खेलाडी अनिता बस्नेत र अञ्जना रानामगरको विशेष उपस्थिति रहेको थियो । बस्नेत र रानामगरसँग तस्बिर खिचाउन र अटोग्राफ लिन विद्यार्थीको भिड लागेको थियो । सो अवसरमा ४० वटा विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए । उसुको डेमोस्ट्रेसन, सांस्कृतिक नृत्य समेत उद्घाटन समारोहको आकर्षणको रूपमा रहेको थियो ।
समितिका अध्यक्ष दीपक बहादुर गोदारको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए ।
आयोजकका अनुसार पहिलो दिन बिहानैबाट विभिन्न खेल आयोजना भएका थिए । उद्घाटन खेलको रूपमा रहेको एथलेटिक्स तर्फको १५ सय मिटरको छात्र दौडमा कालिका माविका सुजन नेपाली प्रथम, बालोदयका तेन्जोन रोका मगर द्वितीय, पश्चिमाञ्चल माविका रोशन पन्थ तृतीय भए । १५ सय मिटरको छात्रा दौडमा छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम, साधना परियार द्वितीय र गौरी शङ्कर माविकी कविता मगर तृतीय भएको सदस्य सचिव अधिकारीले जानकारी दिए । बिहीबार बिहानैबाट खेलहरू सुरु हुने आयोजकले जनाएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा सडक महोत्सवको साङ्गीतिक उत्सव ः न्यू ईयर ईभमा उज्जन शाक्य पनि गुन्जिने
लेखनाथ महोत्सवमा औद्योगिक बहस
लेखनाथ महोत्सवमा घन्कियो रत्यौली
माछापुच्छ्रे गाउँ पालिकाको रिभानमा संरक्षण दिवस मनाइयो
२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने