लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

राष्ट्र न्यूज सम्वाददाता
पौष ४, २०८२
Ratyauli

पोखरा । नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभ सूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो ।

जन्ती हिँड्नु पूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदाभित्रिँदै अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवं वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले बताए । रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने पराजुली बताउँछन् ।
मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष शिवहरि ढुङ्गानाले बताए। रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एक थरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढुङ्गानाले बताए । 

उनकाअनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ । यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन् । पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ ।

रत्यौली गीत आफैँ रोचक हुन्छ भने नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायन स्थललाई निकै रमाइलो बनाउने गर्दछन् । महोत्सवको स्टेजमा नौमती बाजा सहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिङ्गो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुग्ने महिला विशेष कार्यक्रमकी संयोजक प्रतीक्षा रानाभाटले बताइन । पुसको महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेबाजाको साथमा बेहुला र बेहुली नै बनाएर विवाह कै जस्तो भल्को दिने गरी रत्यौली गीतलाई स्थान दिएको थियो ।

महोत्सवको थप आर्कणको रूपमा रहेको रत्यौली प्रस्तुत गर्नको २० बटा समूह पहिलो चरणबाट छनोट भएकामा शुक्रवार नमुना कृषक आमा समूह पोखरा–२६, भरतपोखरी विश्वकर्मा समाज महिला पोखरा–३३ र सरस्वती सामुदायिक महिला समूह पोखरा–३३ ले रत्यौली प्रस्तुत गरेका थिए भने शनिवार गायत्री आमा समुह पोखरा–३२ ले रत्यौली प्रस्तुत गर्नेछ ।

यस्तै महोत्सवको विद्यालय स्तरीय कार्यक्रम अन्तर्गत शुक्रवार सरस्वती टिका मावि, ओए सीस सेकेण्डरी स्कुल, ज्ञानकुञ्ज विद्याश्रम, सिर्जना बहिरा मावि, अमरसिद्ध नमुना माविको प्रस्तुति रहेको थियो भने शनिवार ४ वटा विद्यालयहरुको प्रस्तुति रहेको विद्यालय स्तरीय कार्यक्रम व्यवस्थापन समितिका सदस्य अर्जुन प्रसाद आचार्यले जानकारी दिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मुल नाराका साथ पुस ३ गतेबाट लेखनाथमा सुरु भएको २१ औँ संस्करणको लेखनाथ महोत्सवको दोस्रो दिन ११ हजार दर्शकहरूले अवलोकन गरेका छन् भने ४० लाख बराबरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

शुक्रवार लोकदोहोरी कलाकारहरू धनश्याम रिजाल, कुमार पुन, कृष्णा गुरुङ, शिवहरि ढुङ्गाना, मञ्जु विक, केशव देवकोटा, गगन गुरुङ, अमृता हमाललगायतले प्रस्तुति राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा स्थानीय ब्यान्डहरूको प्रस्तुति रहेको थियो ।

शनिवार लोकदोहोरी कलाकारहरू खुमन अधिकारी, मिरा पोख्रेल, शान्ता वर्देवा, मधु थापा मगर, गगन गुरुङ र शिवहरि ढुङ्गानाले प्रस्तुति दिनेछन भने हाँस्यव्यग्यतर्फ राजेन्द्र गिरी(गुन्द्रुके) र बेलुका सुगम संगिततर्फ रचना रिमाल र डेभीड शङ्करले प्रस्तुति दिने कलाकार संयोजक भरत कुमार अधिकारीले जानकारी दिए । 

Related News

सम्बन्धित समाचार