बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २७, २०८२
3

पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधवार देखि आयोजना गरेको दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरूको भिड लागेको हो  ।

बाल प्रतिभा पहिचान अन्तर्गत प्रदर्शनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि,  हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरू, र अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।

महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरूले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंसा गरेका थिए ।  महोत्सवमा कतै लोक नृत्य, कतै गायन, कतै कविता वाचन विज्ञान तथा प्रविधि त कतै अभिनयले रौनकता  छाएको थियो। यो अलावा महोत्सवमा आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुना टपरी बनाउने चलन हराउँदै गएको अवस्थामा विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान सञ्चालन गरेको एन प्याब्सनको खुलेरै प्रशंसा गरेका थिए । जहाँ विद्यार्थीहरूको लागि महोत्सव  सिकाईको थलो बनेको छ ।

‘कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागत रूपमा चलनचल्तीका सीप सिकाउन पनि महोत्सवको रूपमा आयोजना गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । 

प्रदर्शनी केन्द्रमा तान लगाएर गुन्द्री बुन्ने, चोया काटेर डोको बुन्ने दुना टपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको थियो । 

‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लास्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ’ अध्यक्ष अधिकारीले भने, ‘आफैँले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री अन्यत्र आश्रित नभई हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण महोत्सवले दिलाएको छ ।’

घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री, डोका, दुना टपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन महोत्सव कोषेढुड्डा सावित भएको छ । 

प्रतियोगितामा एन प्याब्सन कास्कीमा आबद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।  विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । शुक्रवार सामूहिक लोक नृत्य र पुरस्कार वितरण कार्यक्रम रहेको सचिव प्रेमराज अधिकारकीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग