पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा बुधवार देखि दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव– २०८२ सुरु भएको छ ।
महोत्सव मङ्सिर २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आबद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।
बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरू, र अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।
अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता जनाउने छन्।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले वाल वालिकाको क्षमता उजागर गर्ने काम यस महोत्सवले गरेको बताए । ‘वाल वालिकामा हुने हरेक खालका प्रतिभाका बारेमा राज्य, परिवार र विद्यालय मिलेर उजागर गर्ने काम गर्नु पर्दछ’ उनले भने, ‘तब मात्र वाल वालिकाका ती क्षमताले समाजलाई अभूतपूर्व योगदान पुग्नेछ ।’ उनले किताबी ज्ञान मात्र नभई व्यवहारिक ज्ञानमा पनि बालबालिकालाई सरिक गराउनु पर्ने उल्लेख गरे ।

नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले एन प्याब्सन कास्कीले गरेका हरेक गतिविधि उत्कृष्ट रहेको बताए । ‘हरेक विद्यार्थीले केही न केही क्षमता लिएर आएका हुन्छन्, ती प्रतिभा पहिचान गर्न सके मात्र हरेक विद्यार्थी आफ्नो क्षत्रमा विशिष्टता गर्नेछन्’ उनले भने, ‘यस्तै एक ठाउँमा विविध खालका कार्यक्रमको आयोजना गरेर एन प्याब्सन कास्कीले विद्यार्थी क्षमता उजागर गर्ने काम गरेको छ ।’ उनले अबको शिक्षा जीवन, जगत् र प्रविधिसँग जोडिने खालको हुनु पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश पोखराका निर्देशक भाष्करराज पन्त, नेसनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्का, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र वड्स एकेडेमीकी छात्रा नितु भण्डारीले बोलेका थिए । महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गरेका छन् ।

यता क्रिकेट प्रतियोगिताको उपाधि कास्की मोडर्नाइज्ड एकेडेमीले हाता पारेको छ । मङ्गलवार भएको फाइनल खेलमा त्रिवेणी पब्लिक माविलाई १९ रनले पराजित गर्दै कास्कीले उपाधि चुमेको हो । गत वर्षबाट एन प्याब्सन कास्कीले क्रिकेट प्रतियोगिता सुरु गरेको थियो। जसमा गत वर्ष पनि कास्की र त्रिबणी फाइनलमा पुग्दा कास्की विजेता बनेको थियो ।
टस जितेर फिल्डिङ रोजेको त्रिबेणीले कास्कीलाई ब्याटिङको निम्ता दिएको थियो । ब्याटिङमा उत्रिएको कास्कीले १० ओभरमा ७ विकेटको क्षतिमा ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको त्रिबेणीले १० ओभरमा ९ विकेटको क्षतिमा ४६ रन बनाएको थियो । उक्त प्रतियोगिता ज्ञानज्योति विद्या कुञ्ज मा.वि. नेसनल व्रिmयसन एकेडेमी तृतीय भए । प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको थिए । खेलकुद प्रतियोगिता मङ्सिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा भएको थियो । कक्षा ११, १२ को फुटसल प्रतियोगिताको उपाधि न्यू ग्यालेक्सी जितेको छ ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एन प्याब्सन कास्कीको क्रिकेट प्रतियोगिताको उपाधि कास्कीलाई, बुधवार देखि वाल प्रतिभा पहिचान कार्यक्रम
एन प्याब्सन कास्कीको क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा
गौरी शङ्कर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशव शरण
एन प्याब्सनको क्रिकेटमा लाविन, बागमारा, नेसनल, कास्की र ज्ञानज्योति विजयी
एन प्याब्सनको फुटसल उपाधि न्यु ग्यालेक्सीलाई, क्रिकेट जारी