पोखरा । पोखरा महानगर पालिका वडा नं. २५ हेमजाले आउँदो आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा शिक्षालाई मुख्य प्राथमिकतामा राख्ने भएको छ ।
शिक्षालाई मुख्य प्राथमिकतामा राखी आउँदो आर्थिक वर्षमा शिक्षा केन्द्रित बजेट ल्याउन लागेको पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिए ।
‘हामी जब वडामा निर्वाचित भएर आयौँ महानगर, प्रदेश सङ्घबाट धेरै विकासका बजेट ल्याउन सफल भयौँ केही काम सकिए, केही काम धमाधम भइरहेका छन् भने कुनै सुरु हुने चरणमा छन्’ अध्यक्ष तिम्सिनाले भने, ‘यस पटक विकास निर्माणसँगै शिक्षालाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारीमा छौँ ।’
उनका अनुसार वडा भित्रका ९ वटै सामुदायिक विद्यालयका वाल विकास कक्षा (ई सिडी) लाई बालमैत्री बनाइने र अतिरिक्त क्रियाकलाप सिकाउने २ जना घुम्ती शिक्षकका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।
यस वर्ष वडाले नयाँ कार्यक्रम अन्तर्गत सर्प र लाटोकोसेरो संरक्षणका लागि वडा पन्छी र वडा सर्प घोषण गर्ने तयारी गरेको छ ।जस अन्तर्गत वडा पन्छीको रूपमा गोठे लाटोकोसेरो र वडा सर्पका रूपमा किङ कोव्रा (काली नाग, राज गोमन) लाई वडा पन्छी र वडा सर्प घोषण गर्ने तयारीमा वडा कार्यालय रहेको छ ।
प्रकृतिका साथीहरू र स्नेक कन्जरभेसन सोसाइटी नेपालको सहकार्यमा वडा कार्यालयले वडा पन्छी र वडा सर्प घोषण गर्ने छ । त्यसै गरी वन तथा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रबद्र्धन कार्यक्रमलाई पनि व्यापक रूपमा लैजाने तयारीमा वडा कार्यालय रहेको छ ।
भौतिक पूर्वाधार तर्फ अधुरा र बिपद जन्य योजनालाई प्राथमिकतामा राखिएको, ग्रामीण क्षेत्र र कुनै पनि योजना नपरेका टोलहरूलाई प्राथमिकतामा राखी सडक, ढल, सिचाइ, वडाको सौन्दर्यकर्ण, उज्यालो वडा लागि आवश्यक बजेट विनियोजन हुने उनले जानकारी दिए।
त्यसै गरी लक्षित वर्गका लागि आत्मनिर्भर र सक्षम बनाउन आयमूलक र सिपमूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट छुट्टाउने तयारी वडाले गरेको छ ।
स्वास्थ्य तर्फ स्वीकृत सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा मेडिकल अधिकृत (डाक्टर) र उच्चस्तरीय ल्याबको व्यवस्था भैसकेको र उक्त ल्याबलाई छिट्टै सञ्चालनमा ल्याई आउँदो आर्थिक वर्षमा बिमा कार्यक्रम सञ्चालनको लागि पहल गरिने उनले जानकारी दिए । वडाले सञ्चालन गरिरहेको घुम्ती शिविरको रूपमा वडा नागरिक आरोग्य कार्यक्रम लाई निरन्तरता दिइने भएको छ ।
कृषि तर्फ एक घर एक घार मौरीको योजना सञ्चालन भइरहेकोमा यसलाई थप प्रभावकारी बनाउन मौरी शिक्षा र मौरिपालन तालिम सञ्चालन गर्ने र कृषि उत्पादनमा वृद्धि ल्याउन कृषि हाट बजार स्थापनाका लागि आवश्यक तयारी गरिने भएको छ।
युवा लक्षित कार्यक्रम अन्तर्गत खेलकुद पर्यटन विकास, युवा रोजगार लक्षित कार्यक्रम र मेला महोत्सव सहयोगका लागि पनि बजेट विनियोजन गरिने भएको छ ।
पोखरा महानगर पालिका वडा नं. २५ ले हाल सम्मको प्रगति, विकास निर्माण र आर्थिक वर्ष २०८२÷८३ को बजेट को सम्बन्धमा वडाका राजनीतिक दल र पूर्व अध्यक्षहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको थियो । छलफलका क्रममा वडालाई उत्कृष्ट र समुन्नत वडा बनाउन महत्त्वपूर्ण सल्लाह, सुझाव प्राप्त भएको थियो ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कोटिहोममा आज महाआरती हुँदै, चर्चित गायक राजु र सम्झना आउँदै
कोटिहोममा भोलि देखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने