प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु

राष्ट्र न्यूज सम्वाददाता
असार १, २०८२
Prativa Creativity and Sports Fair

पोखरा । पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा आइतबारदेखि गण्डकी प्रदेशस्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८३’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फेयर सुरु गरेको हो ।

कार्यक्रमको विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले उद्घाटन गरेका थिए । आइतबार सुरु भएको यो कार्यक्रम असार ७ गतेसम्म चल्नेछ । यो अवधिमा विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता संचालन गरिने प्राचार्य सापकोटाले बताए । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन ।

यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य सापकोटाले जानकारी दिए । त्यस्तै विज्ञान हाजिरी जवाफ र नेपाली वक्तृत्वकला प्रतियोगिता पनि हुनेछन । खेलकुदका गतिविधि अन्तर्गत भलिवल र बास्केटबलतर्फ छात्रका २० र छात्राका ८ टिम सहभागि छन । त्यस्तै टेवलटेनिसतर्फ ३२ वटा टिम छन् । ब्याडमिन्टनतर्फ छात्रका ३० र छात्राका १० टिम सहभागि छन् ।

‘यो खेल प्रतियोगिता मात्र होइन, एउटा फरक खालको महोत्सव पनि हो’ प्राचार्य सापकोटाले भने, ‘यसले विभिन्न जिल्लाबाट आएका सहभागि विद्यार्थीलाई एकअर्कासँग सम्बन्ध बिस्तार गर्ने अवसर पनि दिएको छ । नयाँ साथी पहिचान गर्ने अवसर पनि यसले दिलाएको छ ।’ प्राचार्य सापकोटाका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्ला सहित लुम्बिनी प्रदेशबाट पनि सहभागि हुन आएका छन ।

‘विद्यार्थीले क्षमता देखाउने अवसर यस्तै गतिविधिबाट पाउँछन । प्रतियोगिताले विद्यार्थीमा भएको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउन सघाउँछ’ उनले भने । एसइइ दिएर बसेका बालबालिकालाई खेलकुद र रचनात्मक गतिविधिमा सहभागि गराउनका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए ।

विद्यालयले अघिल्ला वर्ष पनि एसइइ दिएका विद्यार्थीका लागि यस्तै कार्यक्रम गर्दै आएको थियो। प्रतियोगितामा सहभागी सबै प्रतियोगिलाई प्रमाणपत्र र आकर्षक पुरस्कार दिइने प्राचार्य सापकोटाले बताए । उनका अनुसार विद्यालयले खुलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरि २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिइने पनि विद्यालयले बताएको छ ।

Related News

सम्बन्धित समाचार