कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

राष्ट्र न्यूज सम्वाददाता
जेठ ८, २०८२
d81e2367-ae1a-4321-986d-1766500ea986

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ । रुद्राक्षका दानाबाट बनाइएको शिवलिङ्ग र आडैमा भएको शिवको मूर्तिले पनि भक्तजनको ध्यान केन्द्रित भएको छ ।

के युवा युवती के वृद्ध वृद्धा सबैको ध्यान यति वेला शिवलिङ्ग र शिवको मूर्तिमा रमाएको देख्न पाइन्छ । शिवलिङ्गको दर्शनसँगै चाहे फोटो खिच्न होस्, चाहे भिडियो होस् या टिकटक बनाउननै होस् त्यस ठाउँमा भिड लाग्ने गरेको छ । आएका भक्तजन फोटो, भिडियो, टिकटक बनाउनका लागि पालो नै कुर्नुपर्ने हुन्छ ।

उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित २१ फिटको रहेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका जानकारी दिए । उनका अनुसार आडैमा रहेको शिवको मूर्ति पनि २१ फिटको रहेको छ ।  यस कारण पनि कोटिहोममा आएका भक्तजन एक चोटि शिवलिङ्ग र शिवको मूर्तिसँगै फोटो खिचेरै जाने गरेका छन् ।

तनहुँ दमौलीकी कामना क्षेत्री बुधवार कोटिहोम दर्शन गर्न आइन् । उनी कोटिहोम दर्शन गर्न आउँदै गर्दा पहिला शिवलिङ्ग कहाँ छ भनेर खोजिन् र शिवलिङ्गको दर्शन गरेपछि उनी कोटिहोमको सबै ठाउँ घुमिन् ।

‘घरमा टिभी हेर्दै गर्दा शिवलिङ्ग देखे अनि कतिखेर कोटिहोममै पुगेर दर्शन गरौ भएको थियो आज पुरा भयो’–उनले भनिन् । उनीजस्तै  पोखरा–१० अमरसिंहचोककी कामना क्षेत्री पनि सामाजिक सञ्जालमा कोटिहोमको शिवलिङ्ग देखेपछि कोटिहोममा नै आएर दर्शन गरेको बताइन् । उनीहरूजस्तै आउने भक्तजन आवाज यस्तै सुन्न पाइन्थ्यो ।

त्यति मात्रै होइन स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको निशान प्रतिमा दर्शन गर्ने र १ सय कुण्डीय कोटिहोमको हवन कुण्ड परिक्रमा गर्ने भक्तजनको भिड लाग्ने गरेको छ ।
कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो नगरप्रमुख विष्णुबहादुर विष्ट र उप–प्रमुख भरत गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए। 

कार्यक्रमको क्रममा नगरप्रमुखले कोटिहोमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कुरामा जोड दिए। उनले ज्येष्ठ नागरिकप्रतिको कदर र सेवा नै हाम्रो कर्तव्य भएको बताए। साथै, उनले केही सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाए। उक्त सहयोग नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत उपलब्ध गराइने उनले स्पष्ट पारे।

प्रवचन स्थलमा उपस्थित स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र सहयोगी भावना प्रति प्रशंसा व्यक्त गरेका थिए। उनीहरूले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधिहरूको उपस्थितिले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। यस्तो सहभागिताले जन–प्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ बलियो हुने विश्वास लिइएको छ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जेठ १० गते देखि दैनिक १ लाख भक्तजनले कोटिहोम दर्शन गर्ने आउने सङ्केत पाएको बताए । हुन पनि जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा पुनः कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो सङ्केत देखिएको उनको विश्वास छ । 

देवी प्रतिभाले जेठ १६ गते सम्म कथा प्रवचन गर्ने कार्यक्रम छ भने जेठ १४ देखि २२ गतेसम्म नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मन्जरी राधिकादासीले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । दुई प्रख्यात कथा वाचीकाको कोटिहोमा उपस्थितिले पनि भक्तजनको सङ्ख्या बढ्ने आयोजकको दाबी छ ।

कोटिहोममा  युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराज, अनन्त श्री विभुषी पुज्य १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुले भजन सङ्गीत सहित सुमधुर वाणीका साथ कथा वाचन गरेका छन् । कोटिहोममा जारी राष्ट्रिय भजन प्रतियोगिता  बुधवार सम्म १ सय ७० समूहले भजन प्रस्तुत गरिसकेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए । त्यसै गरी  खुल्ला रक्तदान कार्यक्रम ३ सय बढीले रक्तदान गरिसकेको छन् । कोटिहोममा आज लोक दोहोरी गायिका पार्वती जिसीले भजन प्रस्तुत गरेकी थिइन् ।

कोटिहोममा जेठ ९ र १० गते फरक क्षमता भएका व्यक्ती, प्रमुख आचार्य, गुरुहरु धार्मिक तथा सामाजिक अभियानमा सक्रिय अभियन्ता, विभिन्न धार्मिक सङ्घ संस्थाका अध्यक्ष तथा पदाधिकारी गुरुकुलका पदाधिकारीलाई सम्मान गरिने कार्यक्रम तय भएको छ ।

मानव सेवा फाउन्डेसन ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम  नयाँ भवनको शिलान्यास गरिसकेको छ । मानवसेवा फाउन्डेसनले सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन गरेको हो । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले पनि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको छ ।

कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ । कोटिहोममा जेठ १४ गते नेपालका सुप्रसिद्ध मोटिभेटर डा.तारा प्रसाद गिरीले निःशुल्क प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा पोखरमा रहेका विद्यालयका विद्यार्थीलाई लाभ लिन आयोजकले आग्रह गरेको छ ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार धार्मिक क्षेत्रमा राम्रो प्रतिभा भएको कोही पनि नव उदीयमान व्यक्तित्व कोटिहोममा राम्रो स्थान दिइनेछ। ती प्रतिभाले त्यस बापत केही दिनुपर्दैन बरु हामी उच्च मूल्याङ्कन गरेर सहयोग गरिने उनले जानकारी दिए ।

कोटिहोममा अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गते, जेठ १४ देखि २२ गतेसम्म श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मन्जरी राधिकादासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । 

उनका अनुसार कोटिहोममा तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।

त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।

कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिङ्गको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको महायज्ञका निर्देशक शङ्कर खरालले जानकारी दिए ।

त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

Related News

सम्बन्धित समाचार

Trending

ट्रेन्डिङ्ग