पोखरा, १८ वैशाख । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिएको छ ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ लगायत पेसागत हितको प्रवर्द्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको सिकागो सहरमा भएको सङ्घर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो। सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) मनाउने गरिन्छ।
विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा विश्व मजदुर दिवस, मे १ मा सार्वजनिक बिदा दिन थालियो ।
यस पटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । यस सन्दर्भमा कास्कीमा नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशको संयोजन तथा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको आयोजनामा श्रमिक सभा एवम् प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्र यादवले श्रमिकका अधिकार सुनिश्चित गर्नका लागि श्रमिक एकताको खाँचो रहेको बताए ।
‘श्रमिकहरूलाई नै विभिन्न बहानामा फुटाएर श्रमिक अधिकारी कुण्ठित गर्ने गरेको धेरै उदाहरण छन्’ उनले भने, ‘हामी हाम्रा अधिकार लिन फुटेर होइन जुटेर आवाज उठाउनु पर्ने वेला आएको छ ।’
नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले राजनीति सेवामुखी नभई व्यवसायमुखी भएका कारण श्रमिकका अधिकारी सुनिश्चित नभएको तर्क गरे । कार्यक्रममा ट्रेड युनियन काँग्रेस कास्कीले प्रकाशन गरेको भित्ते पात्रको विमोचन गरिएको थियो ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष कमल प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति सदस्य शान्ति सिंह साही, पूर्व केन्द्रीय सदस्य जितबहादुर गुरुङ, कास्कीका निवर्तमान अध्यक्ष विजयराज भण्डारी, पूर्व अध्यक्ष कुलदेव बराल, पूर्व सह अध्यक्ष शिवराज अधिकारी, नेपाल कारखाना श्रमिक सङ्घ केन्द्रीय महासचिव केशवबाबु भट्टराई, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टङ्क अधिकारी, यातायात मजदुर सङ्घ गण्डकी अध्यक्ष किरण पन्त, ट्रेड युनियन काँग्रेस अन्नपूर्ण गाउँपालिका अध्यक्ष यमप्रसाद भण्डारी, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ कास्कीका अध्यक्ष यम रानाभाट, नेपाल गृह श्रमिक सङ्घ कास्की अध्यक्ष गीता पङ्गेनी, नेपाल निर्माण सम्बद्ध श्रमिक सङ्घ कास्कीका अध्यक्ष राजेश बुढामगर ट्रेड युनियन काँग्रेस कास्कीका उपाध्यक्ष मणिराम कँडेल, गण्डकी प्रदेश सचिव रुद्रप्रसाद तिम्सिना, कास्कीका सहसचिव नारायण प्रसाद रिजनलले बोलेका थिए
Related News
सम्बन्धित समाचार
श्रम गर्ने मजदुरसँग सम्मानजनक व्यवहारको खाँचो प्रदेश प्रमुख भट्ट
पर्यटकीय नगरी पोखरामा आज देखि कोटी होम विराट ज्ञान महायज्ञ सुरु
कास्कीका पालिकाको वित्तीय सुशासन नतिजाप्रति माछापुच्छ्रेको असन्तुष्टि
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा
कास्की जिल्ला खेलकुद संघलाई प्लाष्टिक बोतल विन सहयोग