पोखरा, २२ पुस । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा माघ ४, ५ र ६ गते नागीधार महोत्सव हुने भएको छ ।
नागीधार गाउँको समग्र विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखराले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागेका हुन् ।
नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समितिको सहयोग र प्रवद्र्वनमा महोत्सव हुन लागेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा मादी – ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ्ले जानकारी दिनुभयो ।
नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन प्रवद्र्वन, खेलकुद प्रवद्र्वन, संस्कृति संरक्षण तथा प्रवर्धन, मनोरन्जन साथै प्रचाप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङ्को भनाइ छ ।
महोत्सवमा खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् ।
सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामुहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समुह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुती, सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुती रहने छन् ।
त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागि खुल्ला श्रुती लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागि मादी – ८ को समृद्वि र पर्यटन प्रवद्र्वनका लागी सम्भावनाहरु के के हुन सक्छन् भन्ने शिर्षकमा खुल्ला वक्तृत्वकला प्रतियोगिता रहने सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होम बहादुर गुरुङ्ले जानकारी दिनुभयो ।
महोत्सवलाई सफल पार्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । महोत्सव सन्चालनका लागि अनुमानित सात लाख खर्च लाग्ने सबुदुम्हर्सो तमु समाज नागीधारका सचिव नरेश गुरुङ्को भनाइ छ ।
महोत्सव ५ हजार जना दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । खेलकुद संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेका अनुसार, फुटबल तर्फ ३० समूह , सामुहिक नृत्य तर्फ १५ समूह , रसी तान्ने तर्फ १० समूह र छेलो फाल्ने प्रतियोगिता तर्फ धेरैजनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी