पोखरा १३ मा इन्ड्युरो रेस, साहसिक खेलले नयाँ आयाम ल्याउने मन्त्री थापाको भनाई

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १३, २०८१
468642993_877128137942394_1215622344799248900_n

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताउनुभएको छ । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ को उद्घाटन गर्दै उहाँले प्रतियोगिता नेपालको खेलकुद क्षेत्र र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माइलस्टोन बन्ने उल्लेख गर्नुभयो ।
‘पोखरा १३ मा आयोजित इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रिय स्तरका साहसी खेलाडीहरूलाई एउटै मञ्चमा ल्याई साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको छ’– उहाले भन्नुभयो ।
मन्त्री थापाले यस्ता गतिविधिले पोखराको प्राकृतिक सौन्दर्यलाई विश्वभर फैलाउनमात्र नभई स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले समेत लगानी गरिरहेको र आगामी दिनमा पनि सहकार्य समर्थन गर्न तयार रहेको उहाँको भनाई थियो।
खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई समेत प्राथमिकतामा राख्न उहाँको सुझाव थियो ।
पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले पोखरा १३ मा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । समुन्द्री सतहदेखि १ हजार ४ सय मिटर उचाइमा रहेको आर्बा–विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पु¥याउने उहाँले बताउनुभयो ।
उहाँले आगामी दिनहरूमा यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिन र वडाको विकासमा योगदान गर्न आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुयभो । प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माका अनुसार इलिट जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ई–बाइक गरी मंसिर १२ देखि १४ गते सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै