गुरुङ चलचित्रका महानायक ताराबहादुरलाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
असाेज १९, २०८०
Tara

पोखरा, १९ असोज । गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ ।

लोक नृत्य कलाकार सङ्घ, कास्कीले आयोजना गरेको कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन, अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित सम्मान गर्नुभयो ।

सोंपाल तमु समाजको निमन्त्रणामा बेलायत पुगेर नेपाली संस्कृतिको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउन भूमिका खेलेको भन्दै उहाँलाई सम्मान गरिएको सङ्घका सचिव राहुल थापा मगरले जानकारी दिनुभयो ।

स्याङ्जाको दरौँ सिरुबारीमा जन्मेर पोखरालाई कर्मथलो बनाउनुभएका गुरुङले ‘एउटा घरको व्यथा हैन’ भन्ने गुरुङ चलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएको थियो ।

अग्निदहन, किडन्यापलगायतका नेपाली चलचित्रमा समेत काम गर्नुभएका उहाले दर्जनौँ गुरुङ चलचित्रमा अभिनय गर्नुभएको छ । दरौँ सिरुबारी माझकटेरी… लगायतका म्यूजिक भिडियोमा समेत उहाँको अभिनय हेर्न सकिन्छ ।

कार्यक्रममा लोकसंस्कृतिविद् प्रा. डा. कुसुमाकर न्यौपानेले ताराबहादुर सिङ्गो नेपालको तारा मात्र नभएर गौरव गर्न लायक गहना भएको धारणा राख्नुभयो ।

सम्मानित नायक गुरुङले आफू जहाँ गए पनि नेपाली लोक कला र संस्कृतिबाट टाढा रहन नसक्ने बताउनृभयो । कार्यक्रममा उहाँले आयोजक संस्थालाई ५० हजार ६०५  नगद सहयोग गर्नुभयो ।

तारासँगै बेलायत यात्रामा सहभागी डा. चन्द्रबहादुर गुरुङलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी विश्वमोहन गौचन, डा. चन्द्रबहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।

लोक नृत्य कलाकार सङ्घका अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव राहुल थापा मगरेल सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives