मुख्यमन्त्री पाण्डे मुस्ताङमा, निरीक्षणपछि भन्नुभयो – ‘पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ’

राष्ट्र न्यूज सम्वाददाता
असाेज १७, २०८०
mustang

पोखरा, १७ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागवेनी क्षेत्रको पुन निर्माणका लागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताउनुभएको छ ।

‘प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने र दातृ निकायसँग पनि प्रदेश सरकारले सहकार्य गरेर कागवेनी पुन निर्माण गर्नेछ’ उहाँले भन्नभयो ।

बाढीले कागवेनी क्षेत्रमा ठुलो क्षती पुगेकाले संघीय सरकार र स्थानीय सरकारको सहकार्यमा सबैको सामूहिक प्रयास केन्द्रित गर्दा पुननिर्माण सहज र छिटो हुने उहाँको भनाइ छ । ‘यसकालागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरिरहेको छ’ उहाँले भन्नुभयो ।

‘प्राकृतिक विपत्तीसँग हामी जुध्न सक्दैनौँ तर यसबाट शिक्षा लिएर अबको पुन निर्माणमा ध्यान दिनुपर्छ’ क्षतीग्रस्त मुस्ताङको कागवेनी क्षेत्रको निरीक्षण गर्दै उहाँले भन्नुभयो । कागवेनी क्षेत्रमा बाढीले भत्काएका सामाजिक तथा ब्यक्तिगत संरचनाहरु, गुम्बा, धर्मशाला लगायतको मुख्यमन्त्री पाण्डले स्थलगत निरीक्षण गर्नुभयो ।

पुन निर्माणका लागि प्रदेश सरकारबाट सहयोगको अपेक्षा रहेको बताउँदै स्थलगत निरीक्षणमा मुख्यमन्त्री सहभागी हुनु भएको भन्दै बिस्थापित, प्रभावित, जनप्रतिनिधि लगायत स्थानीयले धन्यवाद दिनुभयो ।

साउन २८ गते बाढी आएलगत्तै हेलिकप्टरमा स्थलगत निरीक्षण गर्न आउने तयारी रद्ध गरी मुख्यमन्त्री पाण्डेले हेलिकप्टर भाडामा तिर्ने पैसा कागवेनीको उद्धार र राहतमा पठाएको तत्कालिन समयमा सदनमा समेत जानकारी गराउनुभएको थियो ।

बाढीलगत्तै कागवेनीको उद्धार र राहतका लागि गण्डकी प्रदेश सरकारले अवरुद्ध सडक खुलाएर इन्धन ढुवानी, टेन्ट, कम्बल लगायतका सामग्री उपलब्ध गराएको थियो । क्षतीको पूर्ण विवरण जिल्लाबाट प्रदेश आएपछि थप आर्थिक सहयोग पनि पठाइने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

बाढीग्रस्त क्षेत्रमा उद्धार, राहत, खानेपानीको व्यवस्थापनमा प्रदेश सरकारले तत्काल सहयोग गरेको थियो । बस्तीको दायाँबायाँ तटबन्धन गरिदिन स्थानीयले माग गर्नुभएको छ । प्रदेश सरकारले तटबन्धनका लागि पनि सहयोग गर्ने जनाएको छ ।

निरीक्षणमा मुख्यमन्त्री पाण्डे, मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्यहरु विकल शेरचन, नाम्डु गुरुङ, बिमला गौचन, प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा, गण्डकी प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला सुरक्षा समिति, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives