पोखराका २० वर्षीय अभिनासद्वारा साइनबोर्ड बनाउने मेसिन निर्माण

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३, २०७९
335766403_155070390777086_587271647137652324_n

पोखरा, ३ चैत । पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाउनु भएको छ ।

विहिबार उहाँले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक अनावरण गर्नुभयो । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनासले बताउनुभयो ।

सो मेसिन बने सँगै काठबाट बन्ने मायाको चिनोका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने भनाइ उहाँको छ । नेपालमा नै पहिलो पटक उक्त मेसिन बनेको दाबी अभिनासले गर्नुभयो । सिएनसी प्रविधिद्वारा निर्मित उक्त मेसिनलाई गुराँस आर्टसले निर्माण गरेको हो ।

उहाँ पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा आफ्नो रुची भएकाले पनि केही नयाँ गर्ने सोच भएको उल्लेख गर्नुभयो ।

मेसिन अनावरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अभिनासले आफूले पढेको विषयलाई व्यावहारमा उतार्न गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अभिनास जस्ता प्रतिभाहरुलाई पोखराले संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी बस्ताकोटीले विद्यार्थी भाइबहिनीहरु पढ्ने मात्र नभई उद्यमशील नै हुनुपर्ने बताउनुभयो ।
गुराँस आर्टस्का निर्देशक अभिनासका बुबा शिव बहादुर अधिकारीले आफूले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेको र अहिले छोराले मेसिन बनाएर सार्वजनिक गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो ।

कार्यक्रम चलचित्र पत्रकार संघ कास्कीको संयोजनमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives