उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ ।
पहिरामा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । हिजो चारजना घाइतेको उद्धार गरिएको भए पनि बाँकी रहेका थप आठजनाको आज उद्धार गरिएको हो ।
सकुशल उद्धार गरिएकाहरुमा सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा, २९ वर्षीय फुर्ते शेर्पा, सङ्खुवासभा घर भएका २७ वर्षीय सुकमान तामाङ, निमा शेर्पा, ४० वर्षीय निमादोर्जे शेर्पा र २५ वर्षीय दावा शेर्पा रहनुभएको उहाँले बताउनुभयो ।
त्यस्तै दोलखा घर भएका ४० वर्षीया फुरिता शेर्पा, ३७ वर्षीय लाक्पा तामाङ र ४४ वर्षीय जीतबहादुर शेर्पाको पनि सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो ।
आज उद्धार गरिएकामध्ये ४० वर्षीय निमादोर्जे शेर्पाको अवस्था भने गम्भीर रहेको उहाँले बताउनुभयो । घाइते सबैलाई उद्धारपछि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाई सकिएको प्रहरी नायब उपरीक्षक लामिछानेको भनाइ छ ।
हिमपहिरामा परेका अन्य तीनजनाको अवस्था भने सामान्य रहेकाले उनीहरु आधार शिविरमा आएपछि पुनः काममा फर्किएका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो ।
उहाँले पहिरामा परी ज्यान गुमाएका सङ्खुवासभा जिल्ला घर भएका अनुप राईको शव निकाल्न भने कठिनाइ भइरहेको बताउनुभयो । “त्यस क्षेत्रमा आज पनि पुनः मौसम पनि बिग्रन थाल्यो”, प्रहरी नायब उपरीक्षक लामिछानेले भन्नुभयो, “शव केही तल खोँचमा रहेकाले निकाल्न कठिनाइ भइरहेको छ ।”
आज नै शव निकाल्न सक्ने अवस्था नरहेकाले भोलि मात्र राईको शव निकाल्न आधार शिविरमा हेलिकप्टर पुग्ने उहाँले बताउनुभयो । विभिन्न चार एजेन्सीबाट गएका उनीहरु सोमबार हिमपहिरामा परेका थिए ।
प्रहरीका अनुसार इमेजिङ एक्सप्रेसनबाट गएका पाँच, सेभेन समिटका गएका तीन, एचके एक्सप्रेसनबाट गएका दुई र चितवन एड्भेन्चरबाट गएका तीनजना हिमपहिरामा परेका हुन् ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते