कास्की, १२ असार (रासस) :अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिराले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने विपद्को जोखिमबाट जोगिन र थप सजगता अपनाउन महानगरले नगरवासीलाई आग्रह गरेको छ ।
महानगर प्रमुख धनराज आचार्यले आज एक अपिल प्रकाशित गर्दै पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सावधानी अपनाउन नगरवासीलाई अनुरोध गर्नुभएको हो ।
पोखरा–२५ हेम्जामा घर डुबानमा परेको तथा केही घरमा क्षति पुगेको, पोखरा–४ मा सडक भासिनुका साथै एक घरमा क्षति पुगेको, पोखरा–१६ अर्मला, वडा नम्बर २३ चापाकोट र वडा नम्बर–१९ पुरुनचौरलगायत विभिन्न स्थानमा जमिन भासिनुका साथै ग्रामीण तथा सहरी सडकसमेत अवरुद्ध हुन पुगेको महानगरले जनाएको छ ।
महानगर प्रमुख आचार्यले प्रभावित स्थानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र रेडक्रससहित सरोकारवाला संस्थासँग सहकार्य गर्दै राहत उद्धार र आवश्यक सहजीकरण कार्य भइरहेको जानकारी दिनुभयो ।
अपिलमा भनिएको छ, “बाढी, पहिरो र डुबानलगायत कारण उत्पन्न विपद्को यो क्षणमा बर्सातका समयमा जमिन भासिने, बाढी, पहिरो र जलाशयहरुको बढी जोखिम हुने हुँदा थप सजगता अपनाउन, पूर्वसूचना/सङ्केतका आधारमा जोगिने उपाय खोज्न र विपत्तिमा सम्बन्धित निकायमा यथासक्य छिटो जानकारी गराउनुहुन सबै नगरवासी समक्ष हार्दिक अपिल गर्दछु ।”
केही दिनयताको वर्षाका कारण शनिबार पोखरा–२५ हेम्जामा ३०० घर डुबानमा परेको थियो । सोही ठाउँको पहिराले दुई घर पूर्ण क्षति भएको छ भने एक दर्जन घर जोखिममा छन् । त्यसैगरी आज बिहान पोखराको गैह्रापाटनमा पक्की सडक भासिएको थियो भने एक घरमा क्षति पुगेको छ ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives