कास्की, १० असार (रासस) :पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए ।
अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा भरतबहादुर खत्रीले बताउनुभयो ।
उहाँका अनुसार केन्द्रका डा पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाई, डा माया लामा, डा जुजु श्रेष्ठ र डा अमृत केसीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो ।
यसअघि पोखरा तथा गण्डकी प्रदेशका बिरामी मिर्गौला प्रत्यारोपणका लागि राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । प्रतिष्ठानलाई यही असार ३ गते प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभाग मातहतको मानव अङ्ग प्रत्यारोपण समन्वय सचिवालयबाट अनुमति प्राप्त भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो ।
प्रतिष्ठानले यसअघि प्रत्यारोपणका लागि आवश्यक जनशक्ति उपलव्ध गराउने सम्बन्धमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरेको थियो । पहिलोपटक प्रत्यारोपण गरिएको बिरामीको सबै उपचार खर्च निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।
पोेखरामा मिर्गाैला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई बढाउँदै लैजाने योजना अस्पतालको छ । पोखरामा दैनिक डायलासिस गर्न आउने मिर्गौलाका बिरामीको सङ्ख्या ५०० हाराहारी रहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते