म्याग्दीको मङ्गला गाउँपालिका–५ पिपलबोटमा विश्व वातावरण दिवसको अवसरमा आइतबार समुदायलाई कैलाशफाँट धार्मिक वन हस्तान्तरण गरिँदै । १.०३६ हेक्टर क्षेत्रफलको धार्मिक वन दर्ता गरेर हस्तान्तरण गरिएको हो । तस्बिर ः सन्तोष गौतम÷रासस
म्याग्दी, २३ जेठ (रासस) ःम्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ ।
सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो ।
१.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ ।
कार्यालय प्रमुख मनोज रानाभाटले विश्व वातावरण दिवसको अवसरमा औपचारिक रुपमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । “नापचाँज, क्षेत्रफल पहिचान, विधान, कार्ययोजना र समूह दर्तालगायत सबै प्रक्रिया पूरा गरेर हस्तान्तरण गरेका हौँ”, उहाँले भन्नुभयो, “वन विकास, जैविक विविधता र वातावरण संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले धार्मिक वन बनाएका हौ ।”
प्राचीन कालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको कैलाशफाँटमा शिव मन्दिर रहेको छ । म्याग्दी नदी किनारको शिव मन्दिर परिसरको बगर र सार्वजनिक जग्गा संरक्षण गरेर वृक्षरोपण गरेर वन बनाइएको समूहका अध्यक्ष छविलाल कँडेलले बताउनुभयो ।
वातावरण दिवसको अवसरमा वनमा १०८ पीपलका बिरुवा रोपिएको छ । घेराबार र संरक्षणका लागि डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा रु तीन लाख सहयोग गरेको छ ।
एकै ठाउँमा १०८ वटा पीपलको बिरुवा भएको ठाउँमा पूजाआजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । यसअघि स्थानीयवासी १०८ पीपलको पूजा गर्न बागलुङको बलेवा पुग्ने गरेका थिए । कैलाशफाँट धार्मिक वन जिल्लाको दोस्रो हो ।
यसअघि बेनी नगरपालिका–३ भकिम्लीमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको थियो । म्याग्दी जिल्लाभर ३१८ सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गरिएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते