उर्लियो महाकाली : तटीय क्षेत्रमा कटान सुरु

रासस
कार्तिक २, २०७८
Mahakali river

महेन्द्रनगर, २ कात्तिक (रासस) । लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताउनुभयो । “निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग (भाइरल रोडं) नदीले कटान गरिरहेको छ”, प्रवक्ता न्यौपानेले भन्नुभयो, “पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ ।”

यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ । उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ ।

महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिनुभयो ।

उहाँले प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको जानकारी दिनुभयो । “यहाँ करिब ३०० घर प्रभावित भएका छन् ।” उहाँले भन्नुभयो, “धेरैलाई सुरक्षित स्थानमा सारिएको छ ।” नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन् ।

लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ ।

तटीय क्षेत्रका बस्ती डुबानमा

महाकाली नदीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन् । आइतबारदेखिको अविरल वर्षा पछि महाकाली नदीको बहाव उच्च भएको छ ।

महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङगे पुलसम्मको पूरै बस्तीमा बाढीको पानी पसेको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन् ।

रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली महाकाली नदीको बाढीको पानी पसेको क्षेत्रमा उद्धारमा खटिएको छ । “रातिदेखि नै उद्धारको कार्यमा खटिएका छौँ”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भन्नुभयो, “मानवीय र चौपाया क्षति अहिलेसम्म भएको जानकारी आएको छैन । पानी घरभित्र पस्दा स्थानीय बासिन्दाको खाद्यान्नलगायतमा क्षति पुगेको छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्ने कार्य भइरहेको छ ।” भीमदत्त नगरपालिकाको ब्रह्मदेव, ऐरी, ओदाली र दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर, शान्ति टोलमा गरी २०० बढी घर डुबानमा परेका छन् । महाकाली नदीको बाढीको पानीले कालोपत्रे गरिएको पहुँच मार्ग(भाइरल रोड)मा कटान गर्ने कार्य जारी राखेको छ ।

Related News

सम्बन्धित समाचार

  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…

Archives

Archives