पर्यटन प्रवद्र्धन गर्न अन्तरप्रदेश समझ्दारी घोषणा

राष्ट्र न्यूज सम्वाददाता
असाेज ७, २०७८
IMG_20210923_104915

पोखरा, ७ असोज । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजन एवम् गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा भ्रमण रहनुभएका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा पाँच बुँदे अन्तरप्रदेश समझदारी घोषणा गरिएको छ ।

भ्रमण टोलीसँग बिहीबार गरिएको आन्तरिक पर्यटन प्रवद्र्धन तथा अन्तर प्रदेश अनुभव आदानप्रदानको अन्तरक्रियात्मक कार्यक्रम पश्चात नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल र नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहनप्रसाद शर्माले मुख्यमन्त्रीद्वयको रोहबरमा संयुक्त रुपमा हस्ताक्षर गर्दै उक्त समझदारी घोषणा गर्नुभयो ।

घोषणामा अन्तर प्रदेश बीच पर्यटकीय गन्तव्यको पहिचान, सम्वद्र्धन र प्रचार प्रसार बढाउने, दुबै प्रदेश बीच सिधा हवाई सेवाको निरन्तरताका साथै जनकपुर–पोखराको हवाई सेवा विस्तारमा जोड दिने भनिएको छ ।

त्यस्तै धार्मिक, सांस्कृतिक, पुरातात्विक संस्कृतिहरूको आदानप्रदानका साथै साहसिक खेल पर्यटनका सम्भावना बढाउने, जानकी मन्दिरदेखि त्रिवेणीधाम हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय सर्किटको प्रवद्र्धनमा जोड दिने र दुबै प्रदेशका सहकार्यका क्षेत्र पहिचान गरी कार्यान्वयनमा ल्याउने समझदारीमा उल्लेख छ ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशसँग पर्यटकीय लगायतका हरेक क्षेत्रमा आफूहरू सहकार्य गर्न तयार रहेको बताउँदै दुबै प्रदेशको हितका लागि एकतावद्ध प्रयास गर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री राउत नेतृत्वको टोलीको औपचारिक पोखरा भ्रमणले दुबै प्रदेश बीचको सम्वन्धलाई प्रगाढ बनाएको बताउनुभयो ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले पर्यटनको विकासका लागि पूर्वाधार विकाससँगै पर्यटकीय स्थलहरूको प्रवद्र्धन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नाट्टा केन्द्रका अध्यक्ष अच्युत गुरागाइँ, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहन शर्मा, गण्डकी प्रदेशका प्रमुख सचिव डा.दामोदर रेग्मी, सुवोधकुमार गुप्ता, युवराज लामा, गणेश लाठ लगायतले पर्यटन लगायतले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives