जनप्रिय क्याम्पसलाई कृषि विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असार ९, २०७८
Lead photographs

पोखरा, ९ असार । पोखराको जनप्रिय बहुमुखी क्याम्पसलाई कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले शैक्षिक सामाग्री कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गत बैंकले सहयोग गरेको वरिष्ठ शाखा प्रमुख महेश पौडेलले जानकारी दिनुभयो ।

बैंकले डेल कम्पनीको ब्राण्डेड दुई थान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक समाग्री बैंक सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुली, प्रदेश निर्देशक रघुनाथ अधिकारी, र शाखा प्रबन्धक माधव रिजालले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरी र क्याम्पस प्रमुख विरञ्जी गौतमलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बैंक लिमिटेड सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुलीले क्याम्पसलाई हस्तान्तरण गरिएका सामाग्री थोरै जस्तो भए पनि महत्व धेरै रहेको बताउनुभयो ।

बैंकका गण्डकी प्रदेश निर्देशक रघुनाथ अधिकारीले समुदायमा आधारित नाफारहित क्याम्पससँग जोडिन पाउनु बैंकको गौरव भएको उल्लेख गर्नुभयो ।

बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजालले वित्तीय कारोबार गर्ने बैंकले नाफाको एक प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य प्रावधान अनुसार सामुदायिक क्याम्पस जनप्रियलाई रोजिएको जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले बैंकले प्रदान गरेको शैक्षिक सामाग्री व्यवस्थापन सङ्कायमा अध्ययन गर्ने विद्यार्थीका लागि सहयोगी हुने बताउनुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले शैक्षिक संस्था र वित्तीय संस्थाबिच कार्यगत एकता हुनु सकारात्मक सन्देश भएको बताउनुभयो ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि क्याम्पसले अनलाइन मार्फत् भर्चुअल कक्षा सञ्चालन गरिरेहेको अवस्थामा बैंकद्वारा प्रदान गरिएका सामाग्रीले पठनपाठनमा सहयोग पुग्ने विश्वास उपप्रशासक एकनारायण अर्यालले व्यक्त गर्नुभयो ।

वि.सं. २०२४ सालमा स्थापित बैंकले ५४ वर्ष पार गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कृषि विकास बैंकले मुलुकका सबै क्षेत्रमा शाखा विस्तार गरेर सेवा प्रवाह गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives