पोखरा, २७ चैत । राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म चल्नेछ ।
महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्त्वपूर्ण भएको उल्लेख गर्दै आलु महोत्सवले समग्र पोखरालाई नै ब्राण्डीङ गर्न सफल भएको सुनाए । उनले आलु महोत्सवलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै सोही अनुसार रातो किताबमा समेटिएको स्पष्ट पनि पारे ।
हेमजाका विकास आयोजना चौरासी नहर, साँझ चोक तिब्वतीयन क्याम्प सडक तथा सुईखेत खोला व्यवस्थापन लगायतका योजना महानगरको प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे ।

महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले महानगर किसानको पक्षमा रहेको दाबी गर्दै आलु महोत्सव हेमजावासीको चाड भएको भनाई राखे । उनले कृषि मर्यादित, गर्व लायक पेसा भएको जनाउँदै आलु महोत्सवका कारण हेमजा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनिन सफल भएको दाबी गरे।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महोत्सवले कृषिमा आत्मनिर्भर हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै महानगर कृषि, पर्यटन तथा व्यापार मार्फत स्थानीयको जीवनस्तर उठाउन लागि परेको भनाई राखे। उनले त्यस क्रममा आलुको इतिहासमा बारेमा स्पष्ट पनि पारे।
मूल समारोह समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवालाको साथ सहयोगमा आलु महोत्सवलाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गर्दै महोत्सव मार्फत पोखरामा कृषि पर्यटक वृद्धि हुने अपेक्षा सुनाए । महोत्सवको जननी संस्था किसान बहुउद्देश्यीय सहकारी संस्थालाई धन्यवाद दिर्दै संयोजक श्रेष्ठले कृषि जीवन बचाउने कर्म भएको चर्चा गरे ।
महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णु पादुका माईस्थानबाट बाजा गाजा सहित कृषि झाँकी ¥याली निकालियो । उक्त ¥याली मिलनचोक, साँझ चोक हुँदै महोत्सव स्थल विष्णु पादुका खेलमैदान प्रवेश गरेसँगै मूल समारोहमा परिणत भयो।
महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट बिरुवा, परीक्षण तथा रोग निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।

त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुतिलगायत विभिन्न कृषि उपज विउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीलगायतका गतिविधि पनि सञ्चालन गरिने आयोजक विष्णु पादुका क्लबले जनाएको छ ।
महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारिक स्टल छन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ रु.१ सय तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलुको कारोबार भइरहेको छ ।
मूल आयोजक समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विपिन पौडेलले स्वागत तथा महासचिव विकल थापाले कार्यक्रम सञ्चालन गरे। महोत्सवको दोस्रो दिन शनिवार कलाकारहरू शान्ति रानी परियार, परशुराम अधिकारी, सुनिल गायक लगायतका प्रस्तुति पनि रहनेछन् ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव भोलीदेखि
पर्यटनमैत्री नीतिमा वैरागीको जोड ः एक्यापका कारण देखिएका समस्या नीतिगत रूपमै समाधान गरिने
पोखरामा फागुन १५ मा काँग्रेसको चुनावी सभा हुने, गगन र विश्वप्रकाश आउँदै
पोखरा १० मा मतदातासँग भेटघाट गर्दै तिलक रानाभाट
राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै समाजसँग जोडिएर काम गर्छु: मनोज गुरुङ