पोखरा । लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हिसाबले सफलतातर्फ उन्मुख हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमानता महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्।
महोत्सव सञ्चालनको नवौँ दिनसम्म आइपुग्दा आयोजकको लक्ष्य अनुसारका दर्शकहरूले अवलोकन गरिसकेका छन् भने सोही अनुरूप र कारोबारमा वृद्धि हुँदा आयोजकहरूमा उत्साह थपिएको छ । बिदाका दिनमा मात्र करिब ४० हजार दर्शकले अवलोकन गरेका थिए भने आजसम्म कुल दर्शक सङ्ख्या करिब २ लाख ५० हजार पुगेको छ ।
आर्थिक कारोबारतर्फ दैनिक एक करोड रुपैयाँ हाराहारीमा कारोबार भइरहेको आयोजकले जनाएको छ। केही दिनमै महोत्सवमार्फत करोडौँ रुपैयाँ बराबरको आर्थिक गतिविधि भएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा तथा पशुपक्षीसम्बन्धी स्टलहरूमा राम्रो कारोबार भएको छ। विशेष गरी बाल उद्यान, खाना महोत्सव र कृषि प्रदर्शनी दर्शकका लागि आकर्षण बनेका छन् ।
यस वर्ष महोत्सवलाई परिष्कृत स्वरूप दिँदै कृषि बहस र उद्योग बहस कार्यक्रम पनि आयोजना गरिएको छ। कृषि बहसमा माछा पालन, अलैँची खेती र पोलट्री व्यवसायका कृषकहरूले अनुभव र चुनौती साझा गरेका थिए भने उद्योग बहसमा विभिन्न उद्योगीहरूले व्यावसायिक सङ्घर्ष र सफलताका कथा प्रस्तुत गरेका छन्। नीति निर्माता र सरोकारवालाबिच प्रत्यक्ष संवादले महोत्सवलाई केवल मनोरञ्जनात्मक मात्र नभई ज्ञान र बहसको मञ्चका रूपमा स्थापित गरेको छ ।
सांस्कृतिक, साहित्यिक र शैक्षिक कार्यक्रमहरू पनि महोत्सवका थप आकर्षण बनेका छन्। कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन कार्यक्रम रहेको छ । विद्यालयस्तरीय प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, सुगम सङ्गीत र लाइभ कन्सर्टहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।
२०६१ सालमा ‘सुन्तला महोत्सव’का रूपमा सुरु भएको लेखनाथ महोत्सव आज कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित भएको छ। स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रवर्द्धन र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।
महोत्सव अझै ३ दिन सञ्चालन हुने भएकाले दर्शक सङ्ख्या र आर्थिक कारोबार थप बढ्ने अपेक्षा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
लेकसाईड न्यू ईयर ईभमा भाइरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाइने
१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो
गौरी शकंर मनिलाल मा.विको ५४ औँ वार्षिकोत्सव
१४ औँ पोखरा महोत्सवको तयारी तीव्र
उत्पादक र उपभोक्ताको सङ्गम स्थल बन्यो लेखनाथ महोत्सव