कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औँ संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ ।महोत्सवमा आएर रमाइलो पनि हेर्न पाइने र घर फर्कँदा आफूलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरू सुपथ मूल्यमा पाइने भएपछि महोत्सव स्थल व्यापारिक केन्द्र बिन्दु बनेको हो ।
महोत्सवमा आएका दर्शकहरूले घर फर्कँदा केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा व्यापारको कारोबार बढेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य सङ्घका कोषाध्यक्ष हरि बस्ताकोटीको दाबी रहेको छ ।
महोत्सवमा राखिएका करिब तीन सय ३६ फरक/फरक प्रकृतिका स्टलहरूमा दैनिक उपभोग्य सामानहरू पाइने भएपछि उपस्थित दर्शकहरू खुसी हुँदै आफूले खोजेको र रोजेको सामान सुपथ मूल्यमा पाएको गफ गर्दै फर्केका देखिन्छन् भने व्यापारी पनि अघिल्ला दिनको तुलनामा व्यापारको क्रम बढेकाले सन्तुष्ट रहेको बताएका छन् ।

महोत्सवमा स्वदेशमा नै उत्पादित वस्तुको बिक्री केन्द्र रहेकाले उपभोक्ताले प्रत्यक्ष रूपमा उत्पादकसँग सामान लिन पाउने भएकाले सहुलियत मूल्यमा सामानको बिक्री वितरण भइरहेको छ ।
पुस १४ गतेसम्म चल्ने महोत्सव सातौँ दिनमा चलिरहँदा बुधवार मात्र ६० लाख बराबरको आर्थिक कारोबार भएको र अहिलेसम्म आउँदा छ करोड ८० लाख बरावरको कारोबार भएको स्टलमा गरिएको व्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ बुधवार मात्र १७ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म एक लाख ९० हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् ।
वातावरणीय अनुकूलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप बाक्लो देखिथ्यो । महोत्सव सकिने केही दिन बाँकी रहेको अवस्थामा पनि दर्शकको चाप दिन प्रतिदिन बढ्दै गएको देखिएको छ ।
यसैबिच महोत्सवको सातौँ दिन कलाकारहरू रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, पार्वती जि सी, रिया/रतिमाया खड्का, बिन्दा परियारले प्रस्तुती दिएका थिए भने बेलुका कन्सर्टमा गायक अर्जुन सापकोटा, सहिमा श्रेष्ठ लगायत स्थानिय कलाकारहरूको प्रस्तुतिले स्टेज तताएको थियो ।
महोत्सवमा गाडी देखि गार्मेन्टसम्म र माछा देखि महसम्म एकै ठाउँमा पाइने भएपछि उत्पादक र उपभत्ताको सङ्गम स्थलका रूपमा महोत्सवलाई लिइएको छ । लेखनाथ महोत्सवको आयोजना लेखनाथ उद्योग वाणिज्य सङ्घले गरे पनि यो महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रूपमा परिचित भएको पूर्व अध्यक्ष छत्रधर आत्रेयको दाबी छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु
पोखरा सडक महोत्सवको साङ्गीतिक उत्सव ः न्यू ईयर ईभमा उज्जन शाक्य पनि गुन्जिने
लेखनाथ महोत्सवमा औद्योगिक बहस
लेखनाथ महोत्सवमा घन्कियो रत्यौली
माछापुच्छ्रे गाउँ पालिकाको रिभानमा संरक्षण दिवस मनाइयो