पोखरा । कास्कीको लेखनाथमा जारी २१ औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबिच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरिएको छ ।
महोत्सवको छैटौँ दिन मंगलबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित उद्योग बहस कार्यक्रमले उद्योग क्षेत्रका सरोकारवाला बीच अनुभव साटासाट र छलफलको अवसर प्रदान गरेको थियो । सुरुका दिनमा सुन्तला उत्पादन र बजारीकरण प्रवर्द्धनका लागि आयोजना गरिएको लेखनाथ महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवर्द्धनमा केन्द्रित हुँदै आएको छ ।
उद्योग बहस कार्यक्रममा विभिन्न उद्योगका प्रतिनिधिहरूले आफ्ना व्यावसायिक यात्रा, सङ्घर्ष र सफलताका कथा सुनाएका थिए । कर्माचार्य ग्रुपका विक्रम कर्माचार्यले व्यावसायिक परिवारमा जन्मिएकाले सानै उमेरदेखि व्यवसायप्रति आकर्षित भएको बताए । उनले १३–१४ वर्षकै उमेरमा नेपाली उत्पादनहरू जस्तै टुथपेस्ट, मेची चिया, मायालु साबुन र सोल्टी साबुन बिक्री गरेको अनुभव स्मरण गरे । खुला सीमाका कारण नेपाली व्यवसायमा परेको असर अनुभूति गरेपछि स्वदेशी उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्दै विज्ञापनमार्फत अघि बढ्ने सोच बनाएको उनको भनाइ थियो ।
यस्तै, दीप आइसक्रिमकी सञ्चालक पम्फा देवकोटाले ‘म कर्म गर्न सक्छु र कर्म गरेरै अगाडि बढ्छु’ भन्ने दृढ इच्छाका साथ व्यवसायमा लागेको बताइन् । उनले निरन्तर मेहनत, आत्मविश्वास र कर्मचारीको साथले आफ्नो व्यवसाय अघि बढ्दै गएको अनुभव सुनाउँदै सङ्घर्षका कथा साझा गरिन् ।
मनकामना प्लाइउड कम्पनीका सञ्चालक नारायण प्रसाद बास्तोलाले सानो सिमलबाट सुरु गरेको व्यवसाय प्लाइउड उद्योगसम्म आइपुग्दा विभिन्न चुनौती झेल्नु परेको बताए । विशेष गरी नेपालमा वन पैदावारसम्बन्धी स्पष्ट कानुनको अभावले व्यवसाय सञ्चालनमा समस्या आएको स्मरण गर्दै सङ्घर्षकै बिच व्यवसायलाई निरन्तरता दिएको उनले बताए ।

गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज ढकालले उद्योग प्रवर्द्धनका लागि अनुदानको सीमा बढाउनुपर्ने आवश्यकता औँल्याए । डिपिआरमै ठूलो खर्च हुने हुँदा धेरै योजना अलपत्र पर्ने अवस्था आएको उल्लेख गर्दै अनुदानलाई निश्चित दायराभित्र ल्याउने प्रयास भइरहेको जानकारी दिए । साथै, प्रदेशका गौरवका रूपमा रहेका औद्योगिक क्षेत्रको विकासका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।
स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई उत्साहित बनाउने उद्देश्यसहित आयोजना गरिएको लेखनाथ महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । आयोजकका अनुसार महोत्सवको छैटौँ दिन मंगलबार मात्रै करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । आर्थिक कारोबारतर्फ दैनिक करिब १ करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए । लेखनाथ महोत्सवले स्थानीय उत्पादन, उद्योग र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा घन्कियो रत्यौली
माछापुच्छ्रे गाउँ पालिकाको रिभानमा संरक्षण दिवस मनाइयो
२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
माया प्रेममा आधारित ‘धिताल जयकोट’ गीत सार्वजनिक
ज्ञानज्योति विद्याकुञ्जमा बधाई तथा सम्मान कार्यक्रम