२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

राष्ट्र न्यूज सम्वाददाता
पौष ३, २०८२
01

पोखरा । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र समृद्धि’ भन्ने मुल नाराका साथ आजबाट लेखनाथमा २१ औँ संस्करणको लेखनाथ महोत्सव सुरु हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आज एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मूल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुलीले जानकारी दिइन ।

पराजुलीले लेखनाथ उद्योग वाणिज्य सङ्घले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रूपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात÷जाति भाषा÷भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बत्ताइन । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरूको उत्पादनको प्रदर्शनी एवं बिक्री वितरण गरिने बत्ताइन ।

पुस १४ गते सम्म चल्ने महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक सो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालय स्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जात जातिका मौलिक संस्कृति झल्कने झाँकी ¥याली एवं सांस्कृतिक प्रस्तुति, ख्याति प्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव ध्रुवबाबु भट्टराईले बताए ।

त्यस बाहेक महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्ध जन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, बिउ विजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटो मोबाइल प्रदर्शनी हुने भएको छ । महोत्सवमा पर्यटन प्रवर्द्धन सामग्री तथा वित्तीय सेवा सम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने भएको छ । महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवा मूलक एवं सूचनामूलक सहितका ३ सय ३५ वटा स्टलहरू रहनेछ ।

महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने आयोजकले अपेक्षा गरेको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवका प्रचार प्रसार संयोजक भट्टराईले बताए । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने आयोजकले अनुमान गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने महोत्सवलाई गृहलक्ष्मीग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट, हेटौडा डेरी र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै