एन प्याब्सनको क्रिकेटमा लाविन, बागमारा, नेसनल, कास्की र ज्ञानज्योति विजयी 

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २२, २०८२
b45ad2f0-0225-4050-977b-3c83152e2ae7

पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको क्रिकेट प्रतियोगिता जारी रहेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा आइतबार ५ खेल सम्पन्न भएको छ ।

आइतबार भएको पहिलो खेलमा लाविन रेसिडेन्सियल स्कुलले अक्सफोर्ड स्कुललाई  ६१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको लाविनले १० ओभरमा ७ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अक्सफोर्डले १० ओभरमा अल आउट हुँदै ४० रन बनाएको थियो ।

दोस्रो खेलमा बागमारा एकेडेमिक गार्डेनले  न्यू लेखनाथ पब्लिक एकेडेमीलाई २२ रनले पराजित गरेको छ । ८ ओभरको गेम खेलाइएको उक्त प्रतियोगितामा टस जितेर फिल्डिङ रोजेर न्यू लेखनाथले बागमारालाई ब्याटिङको निम्ता दिएको थियो । बागमाराले ८ ओभरमा २ विकेटको क्षतिमा ५९ रन बनाउँदा जवाफी ब्याटिङमा न्यू लेखनाथले  ८ ओभरमा ७ विकेटको क्षतिमा ३७ रन बनाएको थियो।

तेस्रो खेलमा नेसनल क्रियशन एकेडेमीले फेवा बोर्डिङ स्कुललाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको फेवाले ७.५ ओभरमा सवै विकेट गुमाइ २० रन बनाउँदा सामान्य लक्ष्य पाएको नेसनल क्रियसनले जवाफी ब्याटिङमा ३.४ ओभरमा २ विकेटको क्षतिमा २४ रन बनाएको थियो ।

प्रतियोगिताको चौथो खेलमा कास्की मोडर्नाइज्ड एकेडेमी ले सिद्धार्थ लबडेल बोर्डिङ स्कुललाई ५२ रनले पराजित गरेको छ । टस जितेर फिल्डिङ रोजेको सिद्धार्थले कास्कीलाई ब्याटिङको निम्ता दिएको थियो । कास्कीले १० ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाउँदा सिद्धार्थ लबडेल ८ ओभरमा ३० रन बनाएर अल आउट भयो ।

अन्तिम खेलमा ज्ञानज्योति विद्याकुञ्ज मा.वि.ले  चिल्ड्रेन्स एकेडेमीलाई १० विकेटले पराजित गरेको छ । ज्ञानज्योतिले टस जितेर ब्याटिङको निम्ता दिएपछि ब्याटिङमा उत्रिएको चिल्ड्रेन्सले ६.३ ओभरमा सवै विकेट गुमाई १६ रन बनाउँदा जवाफी ब्याटिङमा उत्रिएको ज्ञानज्योतिले १.४ ओभरमा १७ रन बनाएको थियो ।

आइतबार पहिलो गेम बिहान ८ बजे  हेम्जा बोर्डिङ स्कुल त्रिवेणी पब्लिक मावि बीच हुने क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा जानकारी दिए । यस वर्ष एन प्याब्सन कास्कीले  दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ आयोजना गरेको छ ।

बाल प्रतिभा पहिचान मङ्सिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मङ्सिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मङ्सिर २४ गते हुनेछ । 

प्रतियोगितामा एन प्याब्सन कास्कीमा आबद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।  प्रतियोगितामा एन प्याब्सनमा आबद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।

महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गर्न सक्ने भएकाले सहभागिता व्यापक रहने अधिकारीले जानकारी दिए ।  

बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि,  हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरू, र अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।   

अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार