पोखरा – १३ बाँझापाटनकी ईश्वरा लिम्बुले ५ सय रुपैयाँ तिरेर दुई वटा कुसन किनिन् । उनलाई कुसनको आवश्यकता थिएन, तर कास्की मोर्डनाइज्डमा भएको महोत्सवमा जव उनी पुगिन् उनको मन मानेन ब्याग बाट ५ सय रुपैयाँ निकालिन र दुई वटा कुसन लिएर हिँडिन्। उनी विद्यालयकी अभिभावक हुन् । विद्यालयले आयोजना गरेको महोत्सव अवलोकन गर्न उनी पुगेकी थिइन् ।
महोत्सवमा विद्यालयका विद्यार्थीले आफैले निर्माण गरेका सामाग्री बेच्दै थिए । ‘महोत्सव अवलोकन गर्न जाँदा विद्यालयका विद्यार्थीले विभिन्न खालका सामग्री निर्माण गरेर बेच्न लागेको देखे’ उनले भनिन्, ‘आफ्नै छोरा छोरीहरूले निर्माण गरेका सामाग्री देखेपछि प्रोत्साहन गर्न आवश्यकता नभए पनि किने।’
उनी जस्तै महोत्सवमा पुगेका सबै अभिभावकहरू आफ्ना छोराछोरीले निर्माण गरेका सामाग्री अवलोकन गर्थे र सामग्री किनेर घर लगेका छन् । विद्यालयले गरेको यो पहिलो महोत्सव अभिभावक क्रेता र विद्यार्थी विक्रेताको रूपमा देख्न पाइन्थ्यो ।

महोत्सवमा विद्यालयकला विद्यार्थीले बनाएका विभिन्न किसिमका वस्तु तथा परिकारहरू अभिभावकले किन्थे । जुन वस्तु तथा परिकार विक्री गरेपछि खर्च कटाएर बचेको रकम स्वयम् विद्यार्थीले नै पाउने व्यवस्था विद्यालयले गरेको थियो ।
विद्यालयले गरेको यो महोत्सवले पढाईसँगै रोजगारीमा जोडिने बाटो सिर्जन गरेको कक्षा ८ मा अध्ययनरत विद्यार्थी मानुषी भण्डारीले जानकारी दिइन् । ‘विद्यालयले महोत्सव गरेर हामीलाई रोजगारीमा कसरी जोडिन सकिन्छ भने असल अभ्यास सिकाएको छ’ उनले भनिन्, ‘महोत्सव विद्यालयका सबै विद्यार्थीले आफ्नो प्रतिभा देखाउने थलो बन्यो।’ महोत्सवमा उनी सँगै कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीले हस्तकला निर्माण गरी बिक्री गरेका थिए ।
महोत्सव अवलोकन गर्न आउने अभिभावकहरु आफ्ना छोरा छोरीका प्रतिभा देखेर अचम्मित परेका थिए । विद्यालयका विद्यार्थीले आफ्ना प्रतिभाहरू देखाउने प्लेट फर्म महोत्सव बनेको विद्यालयका अभिभावक पोखर– ८ न्यूरोडका रमन गिरिले बताए ।

महोत्सवमा शैक्षिक सामाग्री प्रदर्शन र विक्री, चित्रकला प्रदर्शन विक्री, हस्तकला निर्माण तथा बिक्री, खेलकुदका कार्यक्रम, खाजाका परिकार, पुस्तक प्रदर्शन तथा विक्री गर्न विद्यार्थीहरूलाई भ्याइनभ्याइ भएको थियो । महोत्सवमा १ हजार सम्मको सामान किन्ने अभिभावकलाई कुपनको व्यवस्था गरी गोला प्रथाद्वारा पुरस्कार पनि प्रदान गरिएको थियो । गोला प्रथाद्वारा उत्कृष्ट २० जनालाई पुरस्कार प्रदान गरिएको थियो ।
शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको विद्यालयका संस्थापक प्रधानाध्यापक राम बहादुर मोचीले जानकारी दिए ।
‘पहिलो पटक आयोजना गरेको यो महोत्सव यति सव्य र भव्य रूपमा सम्पन्न भयो विद्यालय यो अभियानमा साथ दिने सबैलाई आभार तथा धन्यवाद व्यक्त गर्दछ’ उनले भने,‘ आगामी दिनमा हुने विद्यालयका यस्तै खालका गतिविधिमा यहाँहरूको साथको अपेक्षा गर्दछौँ ।’
कला, साहित्य, शिक्षा, खेल, सृजना र मनोरञ्जनको सङ्गम स्थलको रूपमा हेरिएको उक्त महोत्सवमा विद्यालयका शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावकको जमघटको थलो बनेको थियो ।
शुक्रवार भएको महोत्सवमा कक्षा नर्सरी देखि २ सम्म र कक्षा ८ देखि १० सम्मका विद्यार्थी पूर्व विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो भने शनिवार कक्षा ३ देखि ७ सम्म र कक्षा ११, १२ सम्मका विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीको सहभागिता कार्यक्रम संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल उपाध्यायले जानकारी दिए । महोत्सवमा विद्यालयका विद्यार्थी, पूर्व विद्यार्थी तथा अभिभावकको प्रस्तुति रहेको थियो ।

महोत्सवको समापन कार्यक्रममा बोल्दै प्रमुख शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीलाई आत्मा निर्भर बनाउनका लागि यो महोत्सव उदाहरणीय भएको बताए । ‘विद्यार्थीका प्रतिभालाई उजागर गरेर आत्मा निर्भर बनाउने काम विद्यालयको हो जुन महोत्सवले परिपूर्ति गरेको छ ’ उनले भने, ‘अभिभावक र विद्यालयबिचको आत्मीय सम्बन्धले यो सफल हुन्छ, त्यो आत्मीय सम्बन्ध यो विद्यालयमा रहेको छ ।’
जिपिए फोर ल्याउँदैमा विद्यार्थी सफल हुन नसक्ने बताउँदै उनले जीवन जिउन सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको औँल्याए । ‘विद्यार्थीसँग उत्कृष्ट सर्टिफिकेट छ तर जीवन जिउने, संस्कार र समाज प्रति प्रेम भाव छैन भने विद्यार्थीलाई त्यो सर्टिफिकेटले गिजाएको हुन्छ’ उनले भने, ‘त्यसैले उत्कृष्ट सर्टिफिकेट सँगै जीवन जिउने खालको शिक्षा आवश्यकता छ त्यो यो विद्यालयमा पाइन्छ ।’
महोत्सवमा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलाको पुरस्कार वितरण गरिएको थियो भने महोत्सवमा हुने हरेक प्रस्तुतिको प्रतियोगिताको रूपमा निर्णय गरी विजयी हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अमरसिंह उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइराला, विद्यालयका शैक्षिक विभाग प्रमुख शिवु ढकाल, शिक्षक अनुराग अधिकारी, विद्यार्थी शिक्षा खड्का, सुप्रिया भण्डारीले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
कास्की मोर्डनाइज्ड महोत्सव–२०८२ सुरु
एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता मंसिर तेस्रो सातामा
नेशनल प्याब्सन कास्कीको २७ औँ वार्षिक साधारण सभा
कास्की काँग्रेसद्धार पार्टीको विशेष महाधिवेशनको माग
सामुदायिक प्रहरी सेवा वगरको २२ औ वार्षिक साधारण सभा