पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजाले राज गोमन (कालि नाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषण गरेको छ ।
स्नेक कन्जर्भेसन सोसाइटी नेपालको आयोजना, प्रकृतिका साथीहरूको सहकार्य र पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको आर्थिक सहयोगमा शनिवार भएको लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतना मूलक कार्यक्रममा वडा सर्प र वडा पंक्षी घोषणा गरिएको हो ।
कार्यक्रममा पोखरा महानगर पालिकाका प्रवक्ता तथा वडा नं. २५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले राज गोमन (कालि नाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषण गरेका हुन् ।
वडा कार्यालयको बैठकबाट निर्णय गरेर शनिवार उक्त कार्यक्रममा औपचरीक रूपमा वडा सर्प र वडा पंक्षी घोषणा गरिएको अध्यक्ष तिम्सिनाले जानकारी दिए । नेपालमा यस सर्पलाई वडा सर्पको रूपमा घोषणा गर्ने पोखरा महानगरपालिका वडा नं. २५ हेमजा पहिलो स्थानीय तह हो। जैविक विविधताको रक्षा र राज गोमनलाई सम्मान जनाउँदै यो घोषणा गरिएको हो ।
संसार भरि लगभग ४ हजार प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये नेपालमा करिब ८२ प्रजातिका सर्प पाइन्छन् भने कास्कीमा करिब ४० र हेमजामा करिब २२ प्रजातिका सर्पहरू अभिलेख गरिएको छ ।
राज गोमनले मुख्यतः सर्प खाने भएकोले अन्य सर्पहरू सङ्ख्या नियन्त्रण गर्न ठुलो भूमिका खेलेको हुन्छ । लज्जालु प्रजातिको यो सर्प हेमजाका खोला नदी बनजंड्डलहरुमा गुँड बनाएर बच्चा पनि हुर्काउँछ । विशेष गरी परापूर्व काल देखि नै यो सर्पलाई नाग पञ्चमीका दिन पूजा गरिँदै आएको छ ।
राज गोमको गुँड अभिलेखन, संरक्षण र जनचेतना कार्यक्रमहरू स्नेक कन्जर्भेसन सोसाइटी नेपालले विगत ८ वर्ष देखि गर्दै आएको छ । यसै गरी नेपालमा लाटोकोसेरोलाई वडा पक्षीको रूपमा घोषणा गरिएको यो दोस्रो हो । यस अघि खोटाङ जिल्लाको जालपामा हाप्सिलोलाई घोषणा गरी विभिन्न संरक्षणका काम हुँदै आएको छ ।
विश्वभर हालसम्म २ सय ५० भन्दा बढी प्रजातिका लाटोकोसेरो अभिलेख गरिएका छन् जसमध्ये २३ प्रजाति नेपालमा पाइन्छ । ती मध्ये १३ प्रजाति पोखरा उपत्यका र ७ प्रजाति हेमजा क्षेत्रमा अभिलेख गरिएको प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले जानकारी दिए ।उनका अनुसार थप अनुसन्धान गरेको यो सङ्ख्या बढ्न सक्नेछ ।
लाटोकोसेरो मानव बस्ती नजिकै वस्न रुचाउने पंक्षी जसका कारण हेमजाको क्षेत्र यसको लागि उपयुक्त वासस्थान भएको हुनाले यहाँ उल्लेख्य सङ्ख्यामा पाइन्छ । लाटोकोसेरोले मुसा खाएर मुसा नियन्त्रण ठुलो भूमिका खेल्ने भएकोले पनि यसलाई किसानको साथी पनि भनिन्छ ।
गोठे लाटोकोसेरोको एउटा परिवारले एक सिजनमा २ हजार देखि ३ हजार सम्म मुसाहरू खान सक्छ जसले गर्दा कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पु¥याउने आचार्यले बताए ।
लाटोकोसेरो संरक्षणका लागि प्रकृतिका साथीहरू संस्था र डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगर पालिका वडा नं. २५ सँग सहकार्य गरी यस क्षेत्रमा धेरै कार्यक्रम समेत गरिसकेको छ । ह्टिली पुरस्कारको रकम प्रकृतिको साथीहरू संस्था मार्फत यस क्षेत्र संरक्षण विभिन्न गतिविधि सञ्चालन भएका छन् । यस अघि पनि हेमजा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षित वन घोषणा गरिसकिएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिम्सिनाले यो घोषणले हेमजाको क्षेत्रलाई अध्ययन अनुसन्धानको थलो बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले लाटोकोसेरो तथा स्नेक कन्जर्भेसन सोसाइटी नेपालका अध्यक्ष डा. रामाजी गौतम र अनुसन्धानकर्मी अभिशेक सापकोटाले सर्पको विषयमा सहजीकरण गरेका थिए ।
स्नेक कन्जर्भेसन सोसाइटी नेपालका अध्यक्ष डा. रामजी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष तथा संरक्षणकर्मी केशवराज सापकोटाले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजामा पाँचौ हिले महोत्सव
पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा
माछापुच्छ्रे गाउँपालिकाको बजेट ६७ करोड ९९ लाख ५१ हजार ( वजेटको पूर्ण पाठ सहित )
आधुनिक वास रुम सहित कोइलीले ल्यायो पोखरा–काठमाडौँ दिवा बस सेवा
असार पन्ध्रमा हिलो खेल्न हेमजा बोलाउँदै देविस्थान सेवा समाज