पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ् नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायी तथा मजदुर सङ्गठनहरू भोलि देखि देशभर यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन् ।
आन्दोलनरत ४ वटा महासङ्घ र ४ वटा मजदुर सङ्घ गठन गरेको सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति २०८२ ले भोलि (सोमबार) देखि देशभरका सार्वजनिक यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। आन्दोलनरत सङ्गठनहरूले सात बुँदे माग पत्रसहित आन्दोलनको घोषणा गरेका हुन्।
सङ्घर्ष समितिले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारको निर्णय संविधान र सवारी ऐनको विपरीत भएको दाबी गर्दै सो निर्णय तत्काल खारेज गर्न माग गरेको छ।
समितिले निजी प्रयोजनका लागि खरिद गरिएका १० वर्षभन्दा पुराना दुईपांग्रे र १५ वर्षभन्दा पुराना चार पाङ्ग्रे सवारीसाधनलाई भाडाका सवारी सरह सञ्चालन गर्न दिने नियमावलीको विरोध गरेको छ ।
सङ्घर्ष समितिले सम्बन्धित सरोकारवाला निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदै माग पत्रसमेत बुझाए पनि सुनुवाइ नभएकाले बाध्य भएर सवारीसाधन ग्यारेजमै थन्क्याएर देशव्यापी सवारी बन्दमा उत्रन लागेको जनाएको छ। समितिका अनुसार आन्दोलनको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र गण्डकी प्रदेश सरकार आफैले लिनुपर्नेछ।
संयुक्त विज्ञप्तिमा जनाइएअनुसार, आम नागरिक, यात्रु, मजदुर, कर्मचारी, विद्यार्थी लगायत सबै सेवा उपयोगकर्तालाई पर्न जाने असुविधाका लागि दुःख व्यक्त गर्दै समितिले सार्वजनिक यातायात सेवा जोगाउन आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।
विज्ञप्तिमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका अध्यक्ष डा. डोलनाथ खनाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय बहादुर स्वर, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घका अध्यक्ष भीम ज्वाला राई, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी र एकीकृत समाजवादी यातायात मजदुर सङ्गठनका अध्यक्ष रवि केसीले उक्त संयुक्त विज्ञप्तिमा सहमति जनाएका छन्।
Related News
सम्बन्धित समाचार
बन्द र हड्लातलाई माग पूरा गराउने साधन नबनाउन पोखरा उद्योग वाणिज्य संघको आग्रह
भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक
कोटिहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण
अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
राधिका दासीको प्रवचन सुन्न कोटीहोममा भक्तजनको ओइरो