गिद्धको बारेमा सुने पनि, टाढाबाट देखे पनि, नजिकबाट अवलोकन गर्ने मौका पाइएला भन्ने उनले कहिल्यै सोचेका थिएनन्। तर पाल्पाको रामपुर पुग्ने बित्तिकै, उनको मनमा प्रकृतिप्रतिको झन् गहिरो आकर्षण पैदा भयो। रामपुर क्षेत्रमा विश्वकै दुर्लभ डड्डर गिद्धलाई बिना दूरबिन, आँखै अगाडि देख्दा उनी दंग भए। त्यसमाथि, माउ गिद्धले बचेरोलाई आहार खुवाएको दुर्लभ दृश्य अवलोकन गर्नु अझै विशेष अनुभव रह्यो।
गिद्ध अवलोकन टावरबाट झर्दा, पोखरा हेम्जाका नागरिक वैज्ञानिक तथा लाटोकोसेरो संरक्षण दूत केशब सापकोटा एकदमै उत्साहित थिए। सात दिने संरक्षण भ्रमणमा सहभागी भएका गण्डकी प्रदेशका ६ जना लाटोकोसेरो संरक्षण दूतहरू र अन्य सक्रिय संरक्षणकर्मीहरूका लागि यो भ्रमणले नयाँ ऊर्जा थपेको थियो। स्याङ्जाका संरक्षण दूत बालकुमार गुरुङ भन्छन्, ‘यो भ्रमणले हाम्रो कार्यमा अझ प्रेरणा र जानकारी थपेको छ।’
नवलपुरमा समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण इकाई सँग छलफल गरेपछि पोखराका सुदर्शन पराजुली झनै उत्साहित देखिन्थे। उनले भने, ‘युवाहरू स्वयंसेवक भएर वन्यजन्तुको चोरी–सिकारी नियन्त्रणमा लागिरहेको देख्नु ठुलो सिकाइ हो।’ पाल्पाको मदन पोखरामा पञ्चायत कालदेखिको विकास र स्थानीय समूहहरूको अग्रसरता देख्दा पनि उनी दंग परे।
म्याग्दीका सहभागी आयुष ढुंगाना भन्छन्, ‘समुदायमा आधारित पर्यटन, मध्यवर्ती क्षेत्रको वन तथा वन्यजन्तु संरक्षणबारे गहिरो बुझाइ पाइयो। पहिले सामान्य जानकारी भए पनि यस पटक गहिरिएर बुझ्ने मौका मिल्यो।’
स्याङ्जाकी दीपा गुरुङ वन सफारीका क्रममा देखिएका गैँडा, चित्तल र गिद्ध रेस्टुरेन्टबाट निकै प्रभावित थिइन्। अर्की संरक्षण दूत ज्योति शर्माले भनिन्, ‘यस पटकको भ्रमण वातावरणीय, सामाजिक, धार्मिक र ऐतिहासिक दृष्टिकोणले निकै अनुभवयोग्य रह्यो।’
गण्डकी प्रदेशमा सञ्चालित लाटोकोसेरो संरक्षण परियोजनाअन्तर्गत हाल ६ जना स्वयंसेवक ‘लाटोकोसेरो संरक्षण दूत’ कार्यरत छन्। उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ७ दिने भ्रमण पाल्पा, अर्घाखाँची, कपिलवस्तु, नवलपुर, नवलपरासी लगायत ११ जिल्लामा सम्पन्न भएको थियो। भ्रमणका सहजकर्ता सुमन सापकोटा, संगम पौडेल र अनु पौडेल थिए।
यस अवधिमा सहभागीहरूले सामुदायिक वन, धार्मिक वन, मध्यवर्ती क्षेत्र, महत्वपूर्ण चरा क्षेत्र, राष्ट्रिय निकुञ्ज, संग्राहालय, वन्यजन्तु प्रजनन केन्द्र, खोरिया फडानी, लुम्बिनी लगायतका स्थानको अवलोकन गरे। साथै, सम्बन्धित स्थानीय समुदाय र संरक्षणकर्मीहरूसँग छलफलसमेत गरिएको थियो।
प्रकृतिका साथीहरू संस्थाका कार्यक्रम संयोजक सुमन सापकोटाका अनुसार, यो भ्रमणको मुख्य उद्देश्य संरक्षण दूतहरूको कार्यक्षमता अभिवृद्धि गर्नु र लाटोकोसेरो संरक्षणमा तीव्रता दिनु हो। उक्त कार्यक्रमलाई व्हिटली फन्ड फर नेचरले सहयोग गरेको थियो।
Related News
सम्बन्धित समाचार
गण्डकी कोटिहोममा भोलि हास्य कलाकार देखि महिला रेस्लरसम्म सहभागी
गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध
कोटिहोममा आउनेको स्वर– ‘यो त साँचीकै ऐतिहासिक रहेछ’
स्व.गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पाठक र अधिकारीलाई
धार्मिक पर्यटनसँग जोड्दै ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञ