गण्डकी कोटिहोममा भोलि हास्य कलाकार देखि महिला रेस्लरसम्म सहभागी

चर्चित लोकगायक गायिकाको प्रस्तुति रहने

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २४, २०८२
a47df258-a55b-4799-bc0e-79d1e3cbcffa

पोखरा, २४ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बिहीबार (भोलि) चर्चित हास्य कलाकार तथा रेस्लरको सहभागिता रहने भएको छ ।

बिहीबारका लागि विशेष आकर्षणको रूपमा हास्य कलाकार जोगिन्दर पानवाला शिव शङ्कर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिकाको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तै शनिवार चर्चित लोकगायक पशुपति शर्मा, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन प्रस्तुति तथा विशेष साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ।

फाउन्डेसनका प्रचारप्रसार संयोजक लेखराज ढकालले यसबारे जानकारी दिँदै धार्मिक कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रमहरूलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको बताएका छन् ।

ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा  बुधवार  गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्धमा १ सय ५० जनाले सामूहिक व्रतबन्ध गरेका छन्।  

बुधवार मात्रै, उत्कृष्ट दानवीरको रूपमा सङ्कल्प आमा समूहले १ लाख ९ हजार रुपैयाँ, जनजागृति आमा समूहसहित अन्य व्यक्तिहरूले दान गरेका छन्।
त्यस्तै बिहीबार नै २५ गते बिहीबार, एकादशी पर्वको अवसरमा अन्न दान कार्यक्रम आयोजना हुँदैछ। यस्तै कोटिहोममा सात दिन प्रवचन दिन वाचन प्रवीण पं. दिनबन्धु पोखरेलसमेत आउने भएका छन् । पोखरेल वैशाख २८ देखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको संयोजक ढकालले जानकारी दिए । 
यसै गरी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् । जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउन्डेसनले जनाएको छ ।

शनिवार देखी खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको र बुधवार १० समूह प्रतिस्पर्धा गराइएको संयोजक प्रजापति पराजुलीले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था गरिएको छ ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन भईरहेको छ  । सो कोटिहोममा रक्तदान कार्यक्रम हरेक दिन भएको छ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग