कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै 

रक्तदानमा ४० युनिट रगत सङ्कलन, भजन प्रतियोगिता सुरु

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २०, २०८२
WhatsApp Image 2025-05-03 at 4.01.17 PM

पोखरा २० वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागिता उल्लेख्य रहेको छ ।

महायज्ञमा हुने विविध कार्यक्रमले गर्दा पनि भक्तजनका सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

उनका अनुसार भक्तजनको सङ्ख्या बढे सँगै महायज्ञमा सहयोग गर्नेको लर्को नै लागेको छ । शनिवार मात्रै महायज्ञमा १५ हजार बढी भक्तजन सहभागि भएको ढकालले जानकारी दिए ।

चाहे त्यो प्रतियोगितामा सहभागिता जनाउन होस् चाहे कोटिहोम जस्तो पवित्र कार्यक्रममा सहभागिता जनाउन होस् भक्तजनका मन यतिखेर पोखरामा जारी ऐतिहासिक कोटिहोमले तानेको छ ।

शनिवार नै भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउन्डेसनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कोटीहोममा एक सय कुण्डमा दैनिक रूपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय व्यासाचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी छ ।

महायज्ञ स्थलमा शनिवार देखि खुला भजन चुट्का प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय भजन समूहले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा देशभरबाट आएको प्रतियोगीले आफ्ना गाउँका भजन संस्कृतिलाई उजागर गर्ने थलो महायज्ञ वनेको भजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ ।

शनिवार पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच, म्याग्दीका रामचन्द्र जिसीले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा कलश यात्रामा सहभागी विभिन्न आमा समूहलाई सम्मान गरिएको छ । सो अवसरमा लोक दोहोरी गायक राजन कार्कीले गीत प्रस्तुत गरेर भक्तजनलाई नचाएका थिए ।

शनिवार बिहान ८ बजेर ५ मिनेटमा हवन कुण्डमा हवन गरिएको थियो । हवन कार्य जेठ २६ गतेसम्म चल्ने प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए ।
कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरेका छन् ।

कोटीहोममा पोखराका शिक्षासेवी पम्फा गुरुङ, पोखरा महानगरपालिका शिक्षा महाशाखाका सदस्य तारा पौडेललगायत सहभागी थिए।
वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा हाल अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले १४ दिन श्रीमद्भागवत कथा वाचनसँगै बिदाइ गरिएको छ ।

उनलाई कोटीहोममा पुनः ल्याउने प्रयास भइरहेको बताइन्छ । शुक्रवारदेखि नै व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिरहेका छन् ।

कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन भएको छ ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग