श्रम गर्ने मजदुरसँग सम्मानजनक व्यवहारको खाँचो प्रदेश प्रमुख भट्ट

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १८, २०८२
Pradesh-Pramukh-Office (1)

पोखरा, १८ वैशाख । गण्डक प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व मजदुर दिवस (मे १) को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले नेपालमा शारीरिक श्रम गर्ने र दैनिक ज्यालादारी मजदुरलाई सम्मानजनक रूपमा हेर्ने प्रवृत्तिमा समस्या देखिएको उल्लेख गरे। प्रदेश प्रमुख भट्टले सन्देशमा भनेका छन्, ‘परिश्रम गरेर आफू पालिने र अरू पाल्नेहरूलाई हेपाइको दृष्टिबाट हेर्ने नेपाली समाजको प्रवृत्ति बदल्न जरुरी छ ।’

श्रम बजारमा विज्ञान प्रविधिको विकासले थोरै मानव संसाधनबाट धेरै काम सम्पन्न हुने अवस्था सृजना भएको हुँदा यसबाट बेरोजगारहरूको सङ्ख्यामा अझ वृद्धि हुन सक्ने भएकाले श्रमिकहरूको पेसागत दक्षता अभिवृद्धिका लागि बेलैमा सोच्नुपर्ने अत्यावश्यक रहेको उनले उल्लेख गरेका छन् ।
१३६ औँ विश्व मजदुर दिवसले आफ्नो हकहित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले नेपालको संविधानले सम्पूर्ण नागरिकहरूकालागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, समानकामा लैङ्गिक भेदभाव नगरिने व्यवस्था समानताको हकले गरेको स्मरण गराए ।

विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवम् सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’लगायत पेसागत हितको प्रवर्द्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको सिकागो सहरमा भएको सङ्घर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो। सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) मनाउने गरिन्छ।

विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो ।वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा विश्वमजदुरदिवस, मे १ मा सार्वजनिक बिदा दिन थालियो । 

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग