चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् – मुख्यमन्त्री पाण्डे

राष्ट्र न्यूज सम्वाददाता
असाेज १४, २०८१
IMG_6886

पोखरा, १४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिनुभएको छ । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गर्नुभएको हो ।
‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने बेला होईन।’ पोखरा सहित गण्डकी प्रदेशको बिभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढी पहिरोले क्षति पु¥याउँदा यातायात आउजाउ सहज छैन । पृथ्वीराजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा काठमाण्डौँ–पोखरा हवाई यात्रामा चाप बढेको छ ।
यात्रुहरुको गुनासो बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले एअरलाइन्स कम्पनीहरुलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाई गर्न सुझाव दिनुभयो । ‘एअरलाइन्स कम्पनी, नागरिक उड्ययन प्राधिकरण, संघीय सरकार मातहतका निकायमा सहजीकरण पनि गरुँला’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘तपाईहरुले यहाँबाट आफुले सक्ने सहजिकरण गर्नुहोस् ।’
अहिले पोखरा–काठमाण्डौँ भाडा पाँच हजार नौ सय सम्म छ । यस अघि चार हजार चार सय थियो । सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमवार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्ययन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजिकरण गर्न सुझाव दिनुभयो । ‘चाडपर्वको बेला सकेसम्म फ्लाईट थपेर सेवालाई अझै सहज बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
आईतवार काठमाण्डौँबाट पोखराकालागि उडेको जाहज लामो समय होल्ड गरी राती ११ः३० बजे पुन काठमाण्डौँ फर्किएको थियो । यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन एअरलाईन्सहरुलाई सचेत गराउनुभएको थियो ।
विपद् र चाडपर्वका बेला फ्लाईट थप गर्नुपर्नेमा मर्ज हुने गरेको गुनासो आएको बताउँदै उहाँले फ्लाईट घटाएर टिकट नबढाउन निर्देशन दिनुभयो । विपद्को समयमा सेवा दिँदै आएका कम्पनीहरुलाई नागरिक उड्ययन प्राधिकरणको तर्फबाट हुन सक्ने सहुलियतकालागि पनि ध्यान दिईनुपर्ने बताउनुभयो ।
एरलाईन्स कम्पनीहरुले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुँने हुँदा यस बारे केन्द्रीय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन् । पोखरामा यति, बुद्ध, श्री एरलाईन्सले सेवा दिँदै आएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग