हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०८०
Hemja News (2)

पोखरा, १२ फागुन । हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले शनिवार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला एकै साथ सम्पन्न गरी उक्त दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असम भारतकी सचिव नीता गुरुङ भाटियाले हरेक सन्तान सदा सत् कर्ममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफूँले गरेका सत् तथा असत् दुवै कर्मका पहिलो भागिदार बाबुआमा हुने भएकाले शिर उचो राख्ने काम गर्नुपर्नेमा जोड दिँदै स्रष्टा साधकलाई राष्ट्रका असल सन्तानका रूपमा चित्रित गर्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह बाबाले हेमजा हरेक क्षेत्रले पृथक पहिचान बोकेको स्थान भएको चर्चा गर्दै मातृभाषा दिवसका सन्दर्भमा यसरी नेपाली भाषी भारतीय साहित्यकारलाई हेमजामा बोलाएर मर्म अनुसारको स्तुत्य कर्म गरेको बताउनुभयो ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले भाषा साहित्यको श्रीवृद्धिका लाग्छौं भन्नेहरू कुष्ठा र अहम्को भरियावादबाट माथि उठ्न नसक्दा साहित्यको श्रीवृद्धि असली रूपमा हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले असम निवासी नेपालीभाषी साहित्यकारको हेमजा आगमनले प्रतिष्ठानका रजतवर्षका गतिविधिले थप उचाइ लिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक सचिव कोविदशरण उपाध्याय, उपाध्यक्ष सुनिल गायक, सचिव परशुराम अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो ।

सोही समारोहबीच प्रतिष्ठानले १२२ औं सम जयन्तीको अवसरमा आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताको पुरस्कासमेत अर्पण गरेको छ ।

उक्त प्रतियोगितामा केफ माविकी मुस्कान पोखरेल, धवलागिरि बोर्डिङ्का एलिस सुवेदी, श्री अम्बिका माविका रोजी भण्डारी र धवलागिरि बोर्डिङ्की एलिना अधिकारीले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्न सफल हुुुनुभएको छ ।

प्रतियोगिता संयोजक भानुभक्त अविरलले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटनका लागि प्रतिष्ठानले तत्स्थानीय शीर्षकसहितको निबन्ध लेखन प्रतियोगिता राखेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा डा अनिल थापा, गंगा त्रिपाठी, षष्टिवल्लभ तिवारी, सौगात विक, संगम गायक, असिम गायकलगायतले रचनावाचन गर्नुभयो । यस्तै, गण्डकी प्रज्ञा–प्रतिष्ठानको एकमहिने सारंगी प्रशिक्षण प्राप्त विद्यार्थी भाइबहिनीबाट सारङ्गीमा राष्ट्रगानसहित कार्यक्रम शुभारम्भ गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives