पोखरा म्याराथनको तयारी पूरा, ५० विदेशीको सहभागिता रहने

राष्ट्र न्यूज सम्वाददाता
फागुन ४, २०८०
Marethun

पोखरा, ४ फागुन । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ ।

शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको र सहभागी धावकहरुका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले जनाएको छ । पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपाल बाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन् ।

मञ्चले प्रतियोगिता बारे जानकारी दिन  आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, प्रतियोगिताको म्याराथनतर्फ १ सय ८ जनाको सहभागिता रहने छ । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा एक सय २९, महिलामा २९, छात्र पाँच किमिमा पाँच सय ९०, छात्रामा चार सय ८० को जनाको सहभागिता रहने छ । प्रतियोगितामा कूल ३१ विदेशी धावक रहनु हुनेछ ।

जस अनुसार म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा ५, १० किमी पुरुषतर्फ ११ र महिलातर्फ ३ जना विदेशीले सहभागिता जनाउनु हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याण्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरीकाका धावकहरुको सहभागिता रहनेछ । पोल्याण्ड बाहेक सबै राष्ट्रबाट मुख्य इभेन्ट म्याराथनमा सहभागिता रहने छ ।

म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नु हुनेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नु हुनेछ । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नु हुनेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार र सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नु हुनेछ।

१० किमी महिला तथा पुरुषतर्फको विजेताले ३० हजार रुपैयाँ , दोस्रोले २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नु हुनेछ । पाँच किमी छात्र–छात्रा दौडको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनु हुनेछ । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नु हुनेछ ।

पत्रकार सम्मेलनमा अध्यक्ष हरि प्रसाद पराजुलीले सुरक्षाको दृष्टिकोणले गर्दा रुट परिवर्तन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय पोखरा म्याराथनलाई साथ दिनेहरुको संख्या बढिरहेको उल्लेख गर्नुभयो ।

रुट परिवर्तन
पोखरा म्याराथनको यसपटक रुटमा समेत परिवर्तन गरिएको छ । यस अघिका संस्करणहरुमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गरिएको हो । अबको नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमि र बाँकीको दौड फेवातालको सिरानतर्फ जानेछ ।

यस पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित हल्लनचोकको क्यापिङ साइटमा हुनेछ । यस्तै प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि चिप्सको प्रयोग गरिने भएको छ । यस अघि म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिनेछ । जसले धावकको समय निर्धारण गर्नेछ ।

म्याराथनलाई मुख्य प्रायोजन लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रा.लिको सफल दुधले गरेको छ ।

पत्रकार सम्मेलनमा खेलकुद मार्फत पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्वपूर्ण भुमिका निर्वाह गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख नवीन पोखरेलले बताउनुभयो ।

सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, च्यारिटी रनर मञ्जु गुरुङ राई, मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङ, मञ्चका महासचिव कृष्ण तिमिल्सिनालगायतले बोल्नुभएको थियो। कार्यक्रममा अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरुङले गैर आवासिय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीलाई हस्तान्तरण गर्नुभयो।

त्यस्तै पोखरेली मञ्च युकेले गैर आवासिय नेपाली संघ, तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित रकम करिव १९ लाख २४ हजार २ सय ४० मञ्चका अध्यक्ष करम गुरुङले हस्तान्तरण गर्नुभयो भने बगर भाइ खलक यूकेका अध्यक्ष दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा हालै खेलकुद पत्रकार मञ्चबाट स्पेसियल अवार्डबाट सम्मानित मञ्चका आजिवन सदस्य एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई मञ्चका अध्यक्ष पराजुलीले बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा पहिलो पटक पोखरा म्याराथनको गितका रचयिता आरजु विष्ट सल्यानी र यूवा गायक बिनोद बानियालाई सम्मान गरियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives