सकियो आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

नेपालको परिचय नै हिमालसँग जोडिएको छ – मन्त्री आलेमगर

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २६, २०८०
imf2023 (1)

पोखरा, २६ मंसिर । जलवायु परिवर्तनले बद्लिँदा हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा जारी आठौं पर्वतीय महोत्सव मंगलबार सकिएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले बर्सेनि महोत्सव आयोजना गर्दै आएको हो ।

महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आलेमगरले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनले हिमाललाई चोट पु¥याइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि प्रतिकूलताको असर भोग्नु परिरहेको उहाँको भनाइ थियो ।

अर्थमन्त्री मगरले नेपालको परिचय नै हिमालसँग जोडिएकाले यसलाई बचाएर जानुपर्ने उल्लेख गर्नुभयो । नेपाललाई विश्वमाझ यहाँका हिमाल र हिमाली जीवनशैलीले नै चिनाएकाले यसलाई सम्पत्तिका रुपमा जगेर्ना गनुपर्ने उहाँको भनाइ छ ।

‘नेपालको मामिलामा यहाँका हिमाल नै हाम्रा सम्पत्ति हुन् यसलाई जोगाइराख्न जरुरी छ । नेपाल विश्वमा चिनिएको पनि यहाँकै पर्वतले हो,’ उहाँले भन्नुभयो ।

आयोजक नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन र त्यसको महत्व बुझाउन महोत्सव सुरु गरिएको बताउनुभयो ।

नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकारले पोखरास्थित पर्वतीय संग्रहालयमा बर्सेनि महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर कार्यक्रम बनाएर लैजाने योजना रहेको सुनाउनुभयो ।

महोत्सव सहसंयोजक शेषकान्त शर्माले पर्वतीय महोत्सवलाई पर्वतीय जीवनशैलीबारे बुझ्न ज्ञानको महोत्सवका रुपमा अगाडि बढाइएको सुनाउनुभयो ।

महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस भएको थियो । बहसमा सहभागी वक्ताहरुले बद्लिँदो जलवायुलाई रोक्न नसकिने तर, अनुकूलताबारे बहस अबको मुख्य मुद्दा हुनुपर्ने सुझाव राख्नुभएको थियो ।

महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको फोटो प्रदर्शनी पनि गरिएको थियो ।

महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका र उहाँकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रर्दशनमा राखिएको थियो ।

शुक्रबारदेखि ५ दिनसम्म चलेको महोत्सव १० हजार जनाले अवलोकन गरेको संग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिनुभयो ।

त्यसबाहेक महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको थियो । छेलो प्रतियोगितामा किरण सुनार पहिलो, युवराज गुरुङ दोस्रो र राजेश गुरुङ तेस्रो हुनुभयो । उहाँहरुले क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives